arrow

कांग्रेस सरकारको नेतृत्व गर्न तयार : तर अवस्था अझै अपरिपक्व

९ जिल्लाले क्रियाशील सदस्यको विवरण पठाउन सुरु नै गरेनन्

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
nepali-congress-meeting.jpg

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार भएको तर अवस्था अझै अपरिपक्व नै रहेको बताएको छ ।  कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा नेता रमेश लेखकले कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको तर अवस्था परिपक्व नबनिसकेको बताए ।

‘कांग्रेस प्रतिपक्षी दल हो, प्रतिपक्षको नीति जहिले पनि सरकार चलाउने नै हुन्छ, अहिले पनि आवश्यकता परे कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर अवस्था परिपक्व बनिसकेको छैन,’ नेता लेखकले भने ।  नेता लेखकले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार गठनका विषयमा भने कुने छलफल नै नगरेको प्रतिक्रिया दिए । उनका अनुसार बैठकमा पार्टीको महाधिवेशनका सन्दर्भमा मात्रै छलफल भएको हो ।  बैठकमा पार्टीको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताका बारेमा भएको प्रगतिका बारेमा नेतृत्वलाई जानकारी गराएको छ । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले सोमबार दिउसो तीन बजेसम्म ६९ जिल्लाहरूले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण अनलाइन प्रणालीमा राख्न सुरु गरेको जानकारी दिए ।

कांग्रेसले यस पटक देखि सदस्यको विवरण जिल्लाबाटै अनलाइन प्रणालीमा राख्न सकिने गरी व्यवस्था मिलाएको छ ।  संयोजक लेखकका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण अनलाइन प्रणालीमा राख्न सुरु नै गरेका छैनन् ।

उनले हालसम्म ६९ जिल्लाबाट तीन लाख ९२ हजार सात सय ९४ क्रियाशील सदस्यताको नाम प्रणालीमा ‘इन्ट्री’ भएको जानकारी दिए । त्यसमध्ये दुई लाख १२ हजार पाँच सय १९ जनाको नाम नवीकरणमा ‘इन्ट्री’ भएको छ भने एक लाख ८० हजार दुई सय ७५ जनाको नाम नयाँ क्रियाशील सदस्यता लिनेका नाममा ‘इन्ट्री’ भएको छ ।

महाधिवेशन कार्य तालिकाअनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै तथ्याङ्क १० चैत  भित्र केन्द्रमा पठाइसक्नुपर्ने तोकिएको थियो ।



नयाँ