arrow

त्रि–देशीय फुटबलः बंगलादेशको विजयी शुरुआत 

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
three-nations-cup-football-.jpg

काठमाडौं । त्रि–देशीय कप अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल प्रतियोगितामा बंगलादेशले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा कीर्गिस्तानको ओलम्पिक टिम (२३ वर्ष मुनिको) लाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सुखद शुरुआत गरेको हो ।

कीर्गिस्तानका खेलाडी कुमारवज उलु बाइएमानले आत्मघाती गोल गरेपछि बंगलादेश विजयी भएको हो । खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रसलाई क्लियर गर्न खोज्दा बाइएमानले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । 

गोलकिपर टोकोटाएभ इर्झानले बाल भेट्टाए पनि नियन्त्रणमा लिन नसकेपछि गोल भएको थियो । बंगलादेशले केही सुन्दर अवसर पाए पनि त्यो बललाई गोलमा भने परिणत गर्न सकेन । 

खेलको अन्तिमतिर कीर्गिस्तानले गोलको अवसर पाए पनि सफल भएन । अन्तिम सेकेन्डमा कर्नर प्रहारलाई मार्कमा नभएका ताशिभ कामोलिदिनले हेड प्रहार गरे पनि बल गोलको बारभन्दा माथिबाट गएको थियो । 

बंगलादेशी सोहेल राना म्यान अफ द म्याच हुँदै २५० डलर जित्न सफल भएका छन् । 

प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेपालले कीर्गिस्तानसँग खेल्दैछ । शनिबार नेपालको भिडन्त बंगलादेशसँग हुनेछ । 

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ । विजेताले पाँच हजार डलर पाउने छ । 



नयाँ