arrow

भागिरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
bhagirathi-hatyara1.jpg

बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा  अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागिरथीको  भजाइनल स्वाब मिलेको जनाइएको छ ।

दिनेशलाई  पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको  छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए ।

उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई  धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागिरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो ।

दिनेशले पुर्पक्षका लागि  सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए ।  यसअघि भागिरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।

गत माघ २१ गते विद्यालय गएकी भागिरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो ।  

त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।  पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो ।

जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागिरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ