- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। थ्री-नेसन्स कपको फाइनलमा पुग्न नेपाल आज दबाबमा रहने छ। नेपालले बङ्गलादेश विरुद्धको खेलमा जित वा बराबरीको नतिजा ल्याउन जरुरी देखिएको छ।
किर्गिस्तानको युवा टोली विरुद्ध गोल रहित बराबरी खेलेपछि १ अङ्क पाएको नेपालले बङ्गलादेश विरुद्ध पनि कम्तीमा १ अङ्क ल्याए फाइनलमा स्थान सुनिश्चित गर्ने छ। बङ्गलादेशले किर्गिस्तानसँग विजयी हुँदै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।
किर्गिस्तानको युवा टोलीसँग अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेपछि नेपाल बङ्गलादेश विरुद्धको खेलमा दबाबमा रहने निश्चित छ। किर्गिस्तानको टोलीलाई जित्ने अपेक्षा गरिएकोमा अग्रपंक्तिका खेलाडीहरूको फितलो प्रदर्शनले गोल रहित बराबरीमा चित्त बुझाउनु परेको थियो।
किर्गिस्तान विरुद्धको खेलमा नेपाली टोलीको प्रदर्शनले प्रशिक्षक बालगोपाल महर्जन मात्र सन्तुष्ट रहेको पाइयो। उनले आफ्नो टोलीले राम्रो खेलेको तर गोल मात्र गर्न नसकेको बताएका थिए।
बङ्गलादेश विरुद्धको खेलमा पनि गोल गर्न नसकेर राम्रो मात्र खेल्ने हो की भन्ने डर नेपाली फुटबलका प्रशंसकहरूमा रहेको छ। आफुले गोल नगरिकन कुनै पनि समय १ गोल खानु फाइनलबाट सिधै बाहिरिनु हो। किर्गिस्तान विरुद्धको खेलमा रक्षापंक्तिले राम्रो खेल खेलेको थियो।
यसअघि कार्तिक-मङ्सिरमा बङ्गलादेश विरुद्ध दुई मैत्रीपूर्ण खेलमा १ मा नेपाली टोली २-०ले पराजित भएको थियो भने अर्को खेल गोल रहित बराबरीमा सकिएको थियो। दुवै खेल बङ्गलादेशमा खेलिएको थियो।
घरेलु मैदानमा नेपाली टोली जहिल्यै बलियो मानिन्छ। नेपाली टोलीले बङ्गलादेशलाई पराजित गर्ने अपेक्षा दर्शक र समर्थकहरूले गरेका छन्। शनिवार साँझ ५:३०मा नेपाल बङ्गलादेश विरुद्ध भिड्दै छ ।