arrow

भारत–इङ्गल्याण्ड एक दिवसीय सिरिजमा बने यस्ता कीर्तिमान   

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
india-england-odi-2021.jpg

काठमाडौं । भारतले इङ्गल्याण्ड विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ  । पुनेमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इङ्गल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो ।  

यो सिरिजमा विभिन्न रेकर्ड बनेको छ । यो सिरिजमा दुवै टिमले ७० छक्का हानेर दुई वर्ष पुरानो रेकर्ड तोडेका छन् । कुनै पनि तीन खेलको एक दिवसीयमा बनेको ७० छक्का यो पहिलो पटक हो । 

यसअघि सन् २०१९ मा न्यूजिल्याण्ड र श्रीलंकाबीच ५७ र सन् २०१७ मा भारत र इङ्गल्याण्डबीचको ५६ छक्का रेकर्ड रहेको थियो । 

रोहित शर्मा र शिखर धवनको जोडीले ५ हजार रन पूरा गरेको छ । दुवैले मिलेर ५ हजार २३ रन बनाएका छन् । रोहित–धवनले १७ औं पटक शतकको साझेदारी गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी रनको पार्टनरशिप सचिन तेन्दुलकर र सौरभ गांगुलीको नाममा ८ हजार २२७ रनको रहेको छ । 

भारतले सिरिजमा ३३ छक्का हान्यो । यो भारतको ४ वा त्यो भन्दा कम खेलको सिरिजमा बनाएको भारतको सबैभन्दा बढी छक्का हो । सन् २०१७ मा भारतले ३० वटा छक्का हानेको थियो । 

भारतले अष्ट्रेलियाको १४ वर्ष पुरानो रेकर्डको पनि बराबरी गरेको छ । भारतले लगातार छैटौं एक दिवसीयमा ३०० प्लस रन बनाएको छ । भारतले यसअघि सन् २०१७ मा लगातार ५ खेलमा यो सफलता हासिल गरेको थियो । 

एक दिवसीयमा आठौं नम्बरमा ब्याटिङ गर्न आएर सबैभन्दा बढी रन बनाउने रेकर्डको शाम करणले बराबरी गरेका छन् । 

इङ्गल्याण्डका करणले आइतबार रातिको खेलमा नटआउट ९५ रन बनाएका थिए । यसअघि यो रेकर्ड क्रिस वोक्सको नाममा सन् २०१६ मा ९५ रनकै रहेको थियो । 

भारतको अर्को रेकर्ड पनि बनेको छ कि कुनै पनि ब्याट्सम्यानले ८० रन पनि नबनाई ३२९ रन बनेको छ । 

तीन खेलमा इङ्गल्याण्डका जोनी बेयरस्ट्रोले १४ तथा भारतीय ऋषभ पन्तले ११ छक्का बनाए । 
यससँगै भारतले इंग्ल्यान्डविरुद्धको तीनै फर्म्याटको सिरिजमा कब्जा जमाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ