- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्क बाहिर रहेको घटनाप्रति कांग्रेस संसदीय दलले ध्यानार्कषण भएको जनाएको छ ।
सोमबार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गरि नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको भर्त्सना गरेका छन् ।
झडपपछि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको छ । मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन् ।
'अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ । तसर्थ उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ ' विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कांग्रेसले घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । साथै ज्यान गुमाउने प्रति कांग्रेस गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।