- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली फुटबलका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । दशरथ रङ्गशालामा सोमबार (चैत १६ गते) भएको थ्री नेसन्स कपको उपाधि नेपाललाई दिलाएसँगै विराजले संन्यास लिएका हुन् ।
उनी उक्त खेलमा ८९ औं मिनेटमा मात्रै मैदानमा छिरेका थिए । नेपालका लागि ७३ क्याप जितेका विराज राष्ट्रिय टिमबाट सबैभन्दा बढी क्याप जित्ने कप्तानको रेकर्ड बनाएर संन्यास लिएका छन् । यसअघि यो कीर्तिमान पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको थियो । राजुकाजीले ६७ क्याप पूरा गरेका थिए ।
३० वर्षको उमेरमै संन्यास लिएका विराजले थ्री नेसन्स कपका यसअघिका दुवै खेलमा बेञ्चमा बिताएका थिए । उनी गत वर्ष मलेसियासँग उसकै भूमिमा पूरै खेल खेलेयता बेञ्चमै बस्दै आएका थिए ।
एन्फा एकेडेमीका उत्पादक लेफ्ट ब्याक (डिफेन्डर) विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा सन् २००९ मा दशरथ रंगशालामा कीर्गिस्तानविरुद्ध फ्रिकिकमा एक गोल गरेका थिए ।
विराजकै नेतृत्वमा नेपालले २३ वर्षपछि तीन उपाधि जितेको थियो । उनकै कप्तानीमा सन् २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । सोही वर्ष नेपालले मलेसियामा भएको सोलिडारिटी कप र भारतको गोवामा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेको थियो ।
छोटो उमेरमै संन्यास लिएका विराजलाई अब क्लब फुटबलमा भने देख्न सकिने छ । उनकै कप्तानीमा मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । उनले यसअघि आफ्नै कप्तानीमा मनाङ्ग मस्र्याङ्दी क्लबलाई आठौं पटक उपाधि दिलाएका थिए भने थ्रीस्टार क्लबलाई पनि उनले उपाधि दिलाए ।