arrow

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : सरकारको नेतृत्व लिने कि अरूलाई दिने भन्नेमा छलफल हुँदै

महाधिवेशनको कार्यपालिका पनि हेरफेर हुने

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
nc-party-office.png

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महाधिवेशनको कार्यपालिका हेरफेर गर्ने भएको छ । १४औँ महाधिवेशनको क्रियाशील सदस्यता केन्द्रमा बुझाइसक्नु पर्ने अन्तिम मिति १० चैतका लागि निर्धारण गरिएकोमा सो मिति प्रभावित भएपछि कांग्रेसले कार्यपालिका हेरफेर गर्न लागेको हो । त्यसका लागि आज २ बजे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बैठकमा कार्यपालिका हेरफेर सम्बन्धी प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गर्ने छन् । हालसम्म कांग्रेसले ६८ जिल्लाबाट करिब पाँच लाख नयाँ तथा पुराना सदस्यहरूको विवरण अनलाइन प्रणालीमा इन्ट्री भएको, इन्ट्री जारी रहेको र नौ जिल्लाबाट सदस्यता सम्बन्धी विवरण पठाउन सुरु नै नगरिएको बताएको छ ।

यस्तै बैठकमा अन्य पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ताहरूको समायोजनका विषयलाई पनि कसरी अन्तिम रूप दिने भन्ने विषयमा छलफल हुँदै छ । सो सम्बन्धी प्रस्ताव उपसभापति विमलेन्द्र निधिले बैठकमा पेस गर्ने छन् । यस्तै नयाँ सरकार निर्माणका लागि समेत बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न कांग्रेस तयार हुनु पर्ने भन्दै कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले धारणा राख्ने तयारी गरिरहेको छ ।

यस्तो विकल्पमा कांग्रेस बाहेक अन्य दलको नेतृत्वमा समेत सरकार बनाउन कांग्रेस तयार हुनु पर्ने गरी बैठकमा विषयले प्रवेश पाउन सक्ने सम्भावना छ । यदि त्यस्तो नभएमा कांग्रेस सभापति बाहेकको विकल्पमा पनि सरकारमा नेतृत्व गर्न जाने गरी पौडेल समूहले विषय अघि सार्ने गरी छलफल हुन सक्ने जनाएको छ ।

हाल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा समेत सरकारका विषयमा प्रस्ट नभइसकेको भन्दै कांग्रेसले नयाँ सरकारको गठबन्धनका विषयमा प्रयास भए पनि मौनता देखाउँदै आइरहेको छ ।



नयाँ