- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन ।
उनले भने,‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो, भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो, त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो, कांग्रेस किन चुप लागेर बसेको छ भन्ने दबाबका बीच हिजो भएको केन्द्रीय समितिको बैठकमा हामीले पनि आन्तरिक रुपमा लामो छलफल र बहस गरेपछि अब जनताको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय राजनीतिक दलहरुको बेला बेलाको परामर्श र सुझावलाई ग्रहणलाई गर्दै हामीसँगै रहेको, आन्दोलनमा सँगै रहेको, सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कांग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि कांग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो हिजो केन्द्रीय समिति बैठकबाट खोल्यो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानूनी, राजनैतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पारे ।
उनले भने,‘आँफैले विघटन गरेको संसदमा जान प्रधानमन्त्रीलाई पटक्कै जाँगर लागेको छैन् । यो कुरा त सत्य हो । र,यो सरकारलाई संसदलाई विजनेश दिनपनि पटक्कै मन छैन् ।’ उनले संसद् सुचारु गर्न र जनप्रिय सरकार सञ्चालनको लागि अब संसद्ले अर्को सरकार खोज्नुपर्ने कुरा सत्य भएको सुनाए ।
उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने,‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् । उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होईन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं ।’
उनले संसदले अर्को सरकार खोजिरहेको भएपनि प्रधानमन्त्री ओलीले भने अर्को संसद बनाउनको लागि विभिन्न भेन्टिलेशन खोजिरहेको टिप्पणी गरे ।