- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा शुक्रबारदेखि शुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले शानदार शुरुआत गरेको छ । डिफेन्डिङ फाइनलिष्ट दिल्लीले आकर्षक शुरुआत गर्दा चेन्नेई सुपर किंग्स भने निरश देखिएको छ ।
शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा १८९ रनको विजयी लक्ष्य दिल्लीले सहजै ८ बल बाँकी छँदै १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो विकेटका लागि १३८ रनको साझेदारी गर्ने क्रममा शिखर धवनले ५४ बलमा ८५ तथा पृथ्वी शाले ३८ बलमा ७२ रनको योगदान गरे ।
कप्तान ऋषभ पन्त १५ रनमा नटआउट हुँदा मार्कुस स्टोनिसले १४ रन बनाए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नेईले ७ विकेटको नोक्सानीमा १८८ रन बनायो । सुरेश रैनाले ५४ रन बनाएको इनिङमा साम कुरानले १५ बलमा ३४ रन बनाए ।
मोइन अलीले ३६, रविन्द्र जडेजाले २६ तथाआम्बाती रायडुले २३ बनाए । कप्तान महेन्द्र सिंह धोनी भने बिना रन नै फर्किनु पर्यो । उनले २ बलको सामना गर्दै आभेष खानको शिकार भएका थिए ।
दिल्लीका क्रिस वाक्स र आभेष खानले समान दुई तथा रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिएका थिए ।
यो जितले दिल्लीले पुरानै लय समातेको छनक दिएको छ । यसअघि भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको थियो ।
आइतबार बेलुकी सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सले चेन्नईमा खेल्नेछन् । खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।