arrow

जनमोर्चाको आधिकारिक निर्णय नआउँदा  प्रदेश सरकार फेर्ने कसरत सुस्त

logo
सन्जय भट्टराई
प्रकाशित २०७७ चैत ३० सोमबार
gandakai.jpg

नवलपुर । राष्ट्रिय जनमोर्चाले आधिकारिक धारणा नदिदा गण्डकी प्रदेश सरकार फेर्ने कसरत सुस्त भएको छ । गत चैत २५ गते नेपाली काङ्ग्रेसको संसदीय दलले वार्ता समिति गठन गरेर सरकार बदल्ने कसरत सुरु गरेको थियो ।

काङ्ग्रेसले गठन गरेको वार्ता समितिले माओवादी केन्द्र र जसपासँग वार्ता गरेर प्रस्ताव अगाडी बढाउने निचोड निकाले पनि राष्ट्रिय जनमोर्चाको आधिकारिक निर्णय नआएको हुँदा कसरतले गति लिन सकेको छैन ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद (१ स्वतन्त्र सहित) र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

यस्तो अवस्थामा सत्ता समीकरणलाई साथ दिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए प्रस्तावको पक्षमा उभिने भनेर अभिव्यक्ति दिए पछि हौसिएको काङ्ग्रेसले राष्ट्रिय जनमोर्चाको आधिकारिक धारणा पर्खिने भएको हो ।

सोमबार पोखरामा बसेको काङ्ग्रेसको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै वार्ता टोलीका संयोजक समेत रहेका प्रदेश सांसद कुमार खडकाले जनमोर्चाको आधिकारिक धारणा आउन साथ प्रस्ताव अगाडी बढाउने बताएका हुन् ।

संसदको गणितले पनि जनमोर्चाको साथ आवश्यकता पर्ने भएकाले माओवादी र जसपा सँग सहमति भए पनि प्रस्ताव अगाडि नबढाईएको खडकाले बताए । “जनमोर्चाका सांसद साथीहरु सँग सकारात्मक कुराकानी भएता पनि उहाँहरुले पार्टीको आधिकारिक धारणा कुर्नु भएको छ, त्यो आउन साथ हामिले प्रस्ताव अगाडि बढाउछौं, जनमोर्चाको आधिकारिक धारणा एक दुई दिनमै आउँछ”, खडकाले भने ।

काङ्ग्रेस संसदीय दलकी सचेतक ओमकला गौतमले ढिलोमा वैशाख पहिलो साताभित्र गुरुङ सरकारविरुद्धअविश्वासको प्रस्ताव लैजाने वा विश्वासको मत लिनुपर्ने अवस्थामा पुर्‍याउने कांग्रेसको योजना रहेको बताईन ।

अहिले नै कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे निर्क्योल नगरिएको र को, कति सरकारमा जाने कुरा प्राविधिक कुरा भएकाले पार्टीहरुबीच छलफल हुन बाँकी रहेको गौतमको भनाई थियो । “प्रमुख प्रतिपक्ष दल भएकाले पनि सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हो तर यो विषयमा छलफल हुन बाकी नै छ”, गौतमले भनिन् ।

काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भए काङ्ग्रेसले दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने तयारी गरेको काङ्ग्रेस वृतमा चर्चा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ