arrow

नेपाल ट्रष्‍टबाट सरुवा भए सहसचिव भुसाल

logo
आकाश शर्मा,
प्रकाशित २०७७ चैत ३१ मंगलबार
bhishma-bhusal.jpg

काठमाडौँ। यती समूहको थामसेर्कुलाई ताहाचलमा १२ तले भवन बनाउन रोक्न लगाएका नेपाल ट्रष्‍टका सहसचिव भीष्म कुमार भुसाल यतीको दबाबमा ट्रष्‍टबाट सरुवा भएका छन्।

नेपाल ट्रष्‍टमा गएको करिब ४ महिनामै उनको सरुवा वित्त आयोगमा भएको छ। वित्त आयोग यस्तो कार्यालय त्यहाँ कर्मचारी सकेसम्म जान चाहन्नन्। उच्च कर्मचारीको लागि वित्त आयोग सबै भन्दा कम आकर्षक कार्यालय हो।

सरकारको स्वार्थ अनुसार काम गर्न नमान्ने भुसालको सरुवा चाँडो चाँडो हुने गरेको छ। भुसाल नेपाल ट्रष्‍टमा आए पछि उनको निशानामा यती समूहको थामसेर्कु र कन्सेप्ट डेभ्लम्पर्स परेको थियो। उनले सोमबार अपराह्नदेखि काठमाडौँ प्लाजा खाली गर्दै छन्। कन्सेप्ट डेभ्लम्पर्सले सम्झौता विपरीत अटेर गरेर काठमाडौँ प्लाजा कब्जा गरेको छ।

थामसेर्कुले ताहाचालस्थित सोल्टी होटेलको पछाडिको कित्ता १८, १९ र २० नम्बरको  जग्गामा सम्झौता विपरीत भवन बनाउन लागे पछि भुसालले थामसेर्कुलाई चिठी पठाएका थिए।

४ रोपनी, ४ आना, ४ दाम ४ पैसा क्षेत्रफल रहेको उक्त जग्गा थामसेर्कुले नेपाल ट्रष्‍टबाट लिजमा लिएको हो। लिजमा लिइएको जग्गामा सम्झौता विपरीत भवन बनाउन सुरु गरे पछि भुसालले निमार्ण को काम रोक्न लगाएका हुन्।

ट्रष्‍टको चिठी आए पछि उक्त ठाउँमा थामसेुर्कले भवन निर्माणको काम रोकेको छ। ट्रष्‍टले भवन निर्माणको लागि सम्झौता भए बमोजिम नक्सा तथा डिजाइन पेस गर्न थामसेर्कुलाई निर्देशन दिएको छ। नेपाल ट्रष्‍टका अनुसार थामसेर्कुले ट्रष्ट्रसँग ६ तला भवन निर्माण गर्न सम्झौता गरेको हो। तर सम्झौता विपरीत १२ तलासम्मको भवन निर्माण गर्न प्रक्रिया अघि बढाए पछि नेपाल ट्रष्‍टले चिठी पठाएको हो।

लिज सम्बन्धी कागजात, सम्झौतामा उल्लेख भए बमोजिम वेसमेण्ट, ग्राउन्ड फ्लोर, तथा ६ तलाको विस्तृत इन्जिनियरिङ पेस गरी पूर्व स्वीकृति लिने प्रक्रिया अघि बढाउन नेपाल ट्रष्‍टले थामसेर्कुलाई निर्देशन दिएको छ। ट्रष्‍टको चिठी पछि थामसेुर्क आत्तिएको छ। स्रोत भन्छ, थामसेर्कुकै दबाबमा भुसाललाई त्यहाँबाट सरुवा गरिएको हो।

ट्रष्‍टमा सरुवा हुने बित्तिकै भुसालले थामसेर्कुलाई चिठी थमाएका थिए। यती समूह प्रधानमन्त्रीसँग निकट मानिन्छ। यसले पूर्व राजा वीरेन्द्रको जग्गामा आँखा लगाउँदै आएको छ। ट्रष्‍टमा सरुवा हुनु अघि भुसाल बुटवलको अख्तियार कार्यालयमा कार्यरत थिए। त्यहाँ  उनी ९ महिना मात्र बसे। भुसाल हुँदा बुटवल अख्तियारले रङ्गे हात घुस पक्राउ घटनामा अहिलेसम्मको रेकर्ड नै राख्यो।

उपसचिव सरहका तीन जना कार्यालय प्रमुख नै घुस लिँदा लिँदै रङ्गे हात समातिए। उनको कार्यकालमा १३ जना जनप्रतिनिधि र प्रहरी अधिकारी समेत घुस लिँदा लिँदै अख्तियारको फन्दामा परे। तर उनी त्यहाँ धेरै बस्न पाएनन्। तुरुन्तै सरुवा गरियो। बुटवलमा उनी हाकिम पक्राउ गर्ने हाकिम भनी चर्चित भए। भुसाल २०७७ कात्तिकमा बुटवलबाट नेपाल ट्रष्‍ट कार्यालयमा सरुवा भएका थिए।

भुसाल अख्तियारमा जानु पहिले वैदेशिक रोजगार विभागमा काम गरे। त्यहाँ पनि उनी धेरै टिकेनन्। सहसचिवमा बढुवा भए पछि हाल सम्म उनी आधा दर्जनभन्दा बढी कार्यालयमा सरुवा भइसकेका छन्। एक पछि अर्को कार्यालयमा सरुवा हुने क्रम जारी छ।

सरकार निकट कर्मचारीहरू भने लामो समयसम्म एउटै कार्यालयमा काम गर्ने गरेका छन्। सरकारको स्वार्थ पूरा नगरेको कारण भुसाल सधैँ सरकारको पेलाइमा पर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ