- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानी सशक्त देखिन थालेको छ । रोयल च्यालेन्जर्स बैंगलोरका कप्तानसमेत रहेका कोहली ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक पारिश्रमिक लिने खेलाडी परे पनि टिमलाई महत्वपूर्ण जित दिलाउन सकिरहेका थिएनन् यसअघिसम्म ।
आईपीएलको १४ औं संस्करणमा भने उपाधि जित्ने उद्धेश्यले नै कोहली मैदानमा उत्रिएका छन् । उनको टिमले लगातार दोस्रो जित निकालेको छ ।
चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा बैंगलोरले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई हराएको थियो ।
एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १५० रनको मध्यम लक्ष्य पछ्याएको हैदराबादले ९ विकेटको नोक्सानीमा १४३ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३७ बलमा ५४ रन बनाए । मनिष पाण्डेले ३८ रन जोडे । रशिद खानले १७ रन बनाए ।
बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाए । कप्तान कोहलीले २९ बलमा ३३ रन जोडे । हैदराबादका जासन होल्डरले ३, रशिद खानले २ तथा भुवनेश्वर कुमार, शाहबाज निदम र टी नटराजनले एक एक विकेट लिए ।
जितसँगै लगातार २ खेलबाट ४ अंकसहित बैंगलोर लिगको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले हराएको थियो ।
हैदराबादको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो ।
बिहीबारको खेल
बिहीबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । मुम्बईमा हुने खेल जितेर दिल्ली लगातार दोस्रो जितसहित शीर्ष स्थानमा पुग्न चाहन्छ ।
पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको थियो ।
राजस्थान भने पहिलो जित निकाल्न चाहन्छ । राजस्थान पंजाब किङ्ससँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो ।