arrow

दिल्लीले जित्यो दिल, बैंगलोर शीर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
ipl-delhi-shikhar.jpg

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा रहेको छ । लगातार तीन जितसहित सतप्रतिशत नजितासहित बैंगलोर शीर्ष स्थानमा रहेको हो । 

त्यस्तै दिल्ली क्यापिटल्स दोस्रो जितसहित दोस्रो स्थानमा पुगेको छ । आइतबार राति मुम्बईमा भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १९६ रनको विजयी लक्ष्य दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ४९ बलमा ९२ रन बनाए । यस्तै पृथ्वी शाले ३२ तथा मार्कुस स्टोनिसले १३ बलमा नटआउट २७ रन बनाए । 

पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको नोक्सानीमा १९५ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले १२२ रनको साझेदारी गर्ने क्रममा अग्रवालले ६९ रनको तथा कप्तान राहुलले ६१ रन बनाए । 

दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १–१ विकेट लिए । 

बैंगलोर र कोलकाताबीचको खेल 
चेन्नईमा आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई बैंगलोरले ३९ रनले पराजित गर्यो । बैंगलोरले दिएको २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाताले ८ को नोक्सानीमा १६६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि आन्द्रे रसेलले ३१, कप्तान इयान मोर्गनले २९, शकिब अल हसनले २६ तथा राहुल त्रिपाठीले २५ रन बनाए । 

बैंगलोरका केली जेमिसनले ३, हर्सल पटेल र युजभेन्द्र चहलले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले ४ विकेटको नोक्सानीमा २०४ रन बनाएको थियो ।

ग्लेन म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्कासहित ७८ रन बनाए । त्यस्तै एबीडी भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित नटआउट रहँदै ७६ रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १–१ विकेट लिए ।

अंक तालिका 
बैंगलोरले ३ खेलमा ६ अंकसहित शीर्ष स्थान ओगटेको छ । ३ खेलबाट ४ अंकसहित दिल्ली दोस्रो स्थानमा पुगेको छ । ३ खेलबाटै ४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ३ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । बाँकी टिमले समान २–२ अंक बटुलेका छन् । 

सोमबारको खेल
सोमबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे मुम्बईमा शुरु हुनेछ । 

दुवै टिमले दुई खेलमा एकमा जित र एकमा हार बेहोरेका छन् । यो खेल जित्ने टिम कम्तीमा तेस्रो स्थानमा पुग्नेछ । 



नयाँ