arrow

भाग्यमानी ठहरियो दिल्ली, सुपर ओभरमा मार्‍यो बाजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
ipl-delhi-1619415805.jpg

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४ औं संस्करणमा दिल्ली क्यापिटल्स भाग्यमानी टिम ठहरिएको छ । चेन्नईमा आइतबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।

दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदराबादले मात्र ७ रन जोड्यो । जवाफमा दिल्लीले सहजै नतिजा आफ्नो पक्षमा पार्यो । 

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको नोक्सानीमा १५९ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शाले ५३ रन बनाए । कप्तान ऋषव पन्तले ३७ तथा स्टिभ स्मिथले नटआउट ३४ रन बनाए । 

हैदराबादका सिद्धार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । 

जवाफमा १५९ रन नै जोडेको हैदराबादका केन विलियम्सनले नटआउट ६६ तथा जोनी बेयर्स्टोले ३८ रन बनाए । दिल्लीका अभेश खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

बैंगलोर भर्सेस चेन्नई
रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार भोगेको छ । बैंगलोरलाई चेन्नई सुपर किङ्सले हरायो । मुम्बईमा आइतबार भएको खेलमाबैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकाल्यो । 

चेन्नईले दिएको १९२ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो ।

देवदुत पडिकलले सर्वाधिक ३४ रन बनाए को इनिङमा चेन्नईका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

रविन्द्र जडेजाले नटआउट ६२, फाप डु प्लेसिसले ५० रन बनाए । बैंगलोरका हर्षल पटेलले ३ विकेट लिए ।

अंकतालिका
चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ५ खेलमा ८ अंक जोडेको छ । दिल्ली पनि ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

पहिलो हार भोगेको बैंगलोर ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । 

सोमबारको खेल
सोमबार एउटामात्र खेल हुनेछ । पंजाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल बेलुकी ७ः४५ बजे हुनेछ । 

पंजाब ५ खेलबाट ४ अंकसहित पाँचौं तथा कोलकाता ५ खेलबाट २ अंकसहित पुछारमा छ । 



नयाँ