- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले निकै रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्समाथि बैंगलोरले १ रनको जित निकालेको हो ।
अहमदाबादमा बैंगलोरले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेटको नोक्सानीमा १७० रन मात्र बनाउन सक्यो ।
कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले उत्कृष्ट साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् । दुवैबीच पाँचौं विकेटका लागि नटआउट ७८ रनको साझेदारी भएको थियो ।
पन्तले ४८ बलमा नटआउट ५८ तथा हिटमायरले २५ बलमा नटआउट ५३ रन जोडे । निकै संयमित र आक्रामक खेले पनि टिमलाई भने जिताउन सकेनन् ।
बैंगलोरका हर्षल पटेलले २ तथा मोहमद सिराज र केली जेमिसनले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेटको नोक्सानीमा १७१ रन बनायो । म्यान अफ द म्याच एबी डी भिलियर्सले ४२ बलमा नटआउट रहँदै ७५ रन बनाए ।
दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए ।
अंक तालिका
जितसँगै बैंगलोर फेरि शीर्ष स्थानमा पुग्न सफल भएको छ । बैंगलोरले ६ खेलमा १० अंक जोडेको छ । चेन्नई सुपर किङ्स ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।
दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पुछारको सनराइजर्स हैदराबादको २ अंक छ भने बाँकी सबै टिमको ४ अंक रहेको छ ।
बुधबारको खेल
बुधबार चेन्नई र हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे दिल्लीमा हुँदैछ । यो खेल जिते चेन्नई शीर्ष स्थानमा पुग्नेछ । हैदराबादले शानदार जित निकाले पुछारबाट चौथौ स्थानसम्म पुग्ने अवसर छ ।