- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा पुग्न सफल भएको छ । बिहीबार राति भएको खेलमा कोलकाता नाइट राईडर्सलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा पुगेको हो ।
अहमदाबादमा भएको खेलमा दिल्ली ७ विकेटले विजयी भएको हो । कोलकाताले दिएको १५५ रनको विजयी लक्ष्य दिल्लीले १६.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा ओपनर पृथ्वी शाले ४१ बलमा ३ छक्का र ११ चौकाको मद्धतले ८२ रन बनाए । पहिलो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा शिखर धवनले ४७ बलमा ४६ रन बनाए ।
कप्तान ऋषव पन्तले ८ बलमा १६ रन बनाए । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको नोक्सानीमा १५४ रन बनायो । आन्द्रे रसेलले २७ बलमा नटआउट ४५ तथा सुबमन गिलले ३८ बलमा ४३ रन बनाए । दिल्लीका अक्षर पटेल र ललित यादवले २–२ विकेट लिए ।
अंक तालिका
जितसँगै दिल्लीले लिगमा पाँचौं जितसहित ७ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चेन्नई सुपर किंग्सको ६ खेलमा १० अंक छ ।
६ खेलबाटै १० अंकको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा झरेको छ । ६ खेलबाटभ ६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा कायमै छ ।
बिहीबार नै दिल्लीमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्यो । राजस्थानले ४ विकेटको नोक्सानीमा १७१ रन बनाएकामा मुम्बईले १८.३ ओभरमै ३ विकेटको नोक्सानीमा जित निकाल्यो ।
मुम्बईलाई जिताउन म्यान अफ द म्याच क्विन्टन डी ककले ५० बलमा नटआउट ७० रन बनाए । क्रुनाल पाण्डेयाले २६ बलमा ३९ रन बनाए ।