arrow

तुहियो कोहलीको शीर्ष स्थानमा पुग्ने सपना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
ipl-bangalore-1619831988.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । 

बैंगलोरलाई पन्जाब किङ्सले पराजित गरेको हो । अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले हरायो । 

पन्जाबले दिएको १८० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले ८ विकेटको नोक्सानीमा १४५ रन मात्र बनाउन सक्यो ।

कप्तान कोहलीले ३४ बलमा सर्वाधिक ३५ रन जोडेको इनिङमा रजत पटिदारले ३० बलमा ३१ तथा हर्षल पटेलले १३ बलमा ३१ रन बनाए ।

बैंगलोरलाई रोक्ने क्रममा हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ५ विकेटको नोक्सानीमा १७९ रन बनाएको थियो । कप्तान लोकेश राहुलले ५७ बलमा नटआउट ९१ रन बनाए । यस्तै क्रिस गेलले २४ बलमा ४६ रन जोड्दा हरप्रित ब्रारले अलराउन्ड प्रदर्शन गर्दै नटआउट रहँदै १७ बलमा २५ रन बनाए ।

बैंगलोरका केली जेमिसनले २ विकेट लिए । 

अंक तालिका
यो हारले बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । ७ खेलबाट १० अंकको बैंगलोर तेस्रो स्थानमा अड्किएको छ । 

शीर्ष स्थानको चेन्नइ सुपर किङ्सको ६ खेलबाट १० अंक छ । दोस्रो स्थानको दिल्ली क्यापिटल्सको ७ खेलबाट १० अंक छ । चौथो स्थानको मुम्बई इन्डियन्सको ६ खेलबाट ६ अंक छ ।

पन्जाबले पनि लिगमा तेस्रो जित निकाल्दै ७ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा पुग्न सफल भएको छ । 

शनिबारको खेल
शनिबार शीर्ष स्थानको चेन्नई र चौथो स्थानको मुम्बई खेल्दैछन् । पहिलो खेलमा चेन्नईले मुम्बईलाई हराएको थियो । यो मुम्बईका लागि बदला लिने अवसर समेत रहेको छ । 

खेल दिल्लीमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ । खेल जित्दा चेन्नईले शीर्ष स्थानलाई बलियो बनाउने छ भने मुम्बई चौथो स्थानमै रहेर शीर्ष तीन टिमलाई चुनौती दिइरहने छ । 



नयाँ