- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले सनसनीपूर्ण जित निकालेको छ । दिल्लीमा शनिबार राति दिल्लीमा भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गर्यो ।
चेन्नईले दिएको २१९ रनको फराकिलो विजयी लक्ष्य मुम्बईले निर्धारित २० ओभरमै ६ विकेट गुमाएर पूरा गर्यो । असम्भव देखिएको खेल जिताउने क्रममा केइरोन पोलार्डले शानदार खेले । उनले ३४ बलको सामना गर्दै नटआउट रहँदै ८७ रन बनाए । उनले ८ छक्का र ६ चौका प्रहार गरेका थिए ।
यस्तै क्विनटन डी ककले ३८, कप्तान रोहित शर्माले ३५ तथा कुर्नाल पाण्डेयाले ३२ रन बनाए । चेन्नईका साम कुरानले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर २१८ रनको फराकिलो योगफल खडा गर्यो ।
चेन्नईका लागि अम्बाती रायडुले २७ बलमा २६६ को स्ट्राइक रेटमा नटआउट रहँदै ७२ रन बनाए । त्यस्तै मोइन अलीले ३६ बलमा ५८ तथा फाप डु प्लेसिसले २८ बलमा ५० रन बनाए ।
मुम्बईका पोलार्डले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १–१ विकेट लिए ।
यो शानदार जितले मुम्बईले आफ्नो पकड जमाउँदा चेन्नईलाई दुई अंकको अग्रतासहित शीर्ष स्थानमा रहने सपना चकनाचुर गराएको छ ।
अंक तालिका
जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेर आफूलाई चौथो स्थानमा कायमै राखेको छ । चेन्नई ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा कायमै छ ।
दोस्रो स्थानको दिल्ली क्यापिटल्सको ७ खेलबाट १० अंक नै रहेको छ भने ७ खेलबाटै १० अंकको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ ।
पन्जाब किंग्स ६ अंकसहित पाँचौं स्थानमा छ ।