arrow

पूर्वडीआईजी शाह भ्रष्टाचारमा दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
mahesh-bikarm-shah-police.jpg

काठमाडौँ । लामो सयमदेखि विशेष अदालतमा थाती रहेको भ्रष्टाचार मुद्धाको सुनुवाई गर्ने क्रममा पूर्व डीआईजी एवं मदन पुरस्कार विजेता महेशविक्रम शाह दोषी ठहर भएका छन् । 

सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्व डीआईजी शाहसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।  

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चार जनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ देखि ६ वर्ष कैद र ३३ लाख बिगो माग दाबीसहित प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार शाह सहित तीन जना प्रहरी अधिकारी विरुद्ध २०७६ सालमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । 

आयोगले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनको समादेशक हुँदा शाह सहितले सरुवा भएका प्रहरी जवानहरुको तलब भत्ता मिलेमतोमा आफूले लिएको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव बिशंखेसमेतले यसमा सघाएको आरोप थियो । 

सो प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई विशेषले दोषी ठहर गरेको छ । 

यससँगै विशेषले अब उनीहरू विरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको छ । पूर्वडीआईजी शाहसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

मुद्धा दायर हुनुभन्दा अघिल्लो महिना मात्रै उनी अवकाशमा गएका थिए । 

मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६.८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी खाएको आयोगको दाबी थियो । 

अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा थियो । सो मुद्धा पाँच वर्षदेखि विशेष अदालतमा अल्झेको थियो । 

२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । 

छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । खनालले जस्ताको त्यस्तै सो प्रतिवेदन अख्तियारलाई पठाइदिएका थिए । सो प्रतिवेदनको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

उनी अफ्रिकन अमिगोदेखि ‘छापामारको छोरोका लेखक हुन् । जसले उनलाई  साहित्यको बेग्लै धरातलमा पुर्याएको मात्र नभई मदन पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार पनि दिलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ