arrow

युवाहरूको पहलमा देवचुलीमा अक्सिजन बैङ्क

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ वैशाख २५ शनिबार
nawalpur-devchuli-oxygen-bank.jpg
तस्बिर : अक्सिजन जुटाउँदै देवचुलीका युवाहरू

कावासोती। पूर्वी नवलपरासीको देवचुलीमा गत वैशाख २० गते सोमबार ६८ वर्षीय कोरोना सङ्क्रमित खेम काफ्लेलाई अस्पताल लैजान एम्बुलेन्स नपाए पछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा बाटैमा उनले ज्यान गुमाए।

समयमा एम्बुलेन्स र अक्सिजन पाएका भए उनले ज्यान गुमाउन पर्दैनथ्यो भन्दै नागरिक समाज युवाहरू नगरपालिकाको प्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी पनि भयो। यो विषयले देशैभरका सञ्चार माध्यममा प्रमुखताका साथ समाचारहरू आए।

माथिको घटना लगत्तै चर्को आलोचना पाएका पूर्वी नवलपरासीका देवचुली सहितका स्थानीय तहहरूलाई तत्काल अक्सिजन सहितको आइसोलेसन र एम्बुलेन्स व्यवस्थापन गर्न भने समय लागेन र सबै स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन तयार पनि भयो।

यो घटना पछि युवाहरूको खबरदारी र सक्रियताले समस्याको समाधान गर्न सकिँदो रहेछ भन्ने लागेका देवचुलीका युवाहरू यति बेला भने अक्सिजन बैङ्कको स्थापनामा जुटेका छन्।

एम्बुलेन्स नपाएर निधन भएका कोरोना सङ्क्रमित खेम काफ्लेको नाममा स्मृति प्रतिष्ठान बनाएर युवाहरूले अक्सिजन बैकको स्थापना गरिसकेको देवचुलीका युवा अभियन्ता वसन्त पोख्रेलले बताए। शनिवारबाट सुरु गरिएको अभियानको पहिलो दिनमै ११ सिलिन्डर अक्सिजन जम्मा गर्न सफल भएको पोख्रेलले बताए।

देवचुली नगरपालिका, नगरभित्रका सङ्घसंस्था, राजनीतिक दल र नागरिक समाजसँग समन्वय गर्दै आफूहरू अगाडि बढेको र छिट्टै नै खेम काफ्लेको स्मृतिमा अक्सिजन सहितको आइसोलेसन निर्माण गर्न आफूहरू जुटेको अभियानका अर्का सदस्य चिरन पाण्डेले बताए। दलीय स्वार्थ भन्दा माथि उठेर आफूहरूले सुरु गरेको मानवतावादी अभियानमा साथ सहयोग गर्न पाण्डेले आग्रह पनि गरेका छन्।

जम्मा पारिएको अक्सिजन सिलिन्डरहरू यति बेला दलदले स्थित सशस्त्र प्रहरी बेस क्याम्पको सुरक्षामा राखिएको र छिट्टै नै नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने अर्का अभियन्ता माधव पौडेलले बताए।

युवाहरूले सुरु गरेको अभियानमा नगरपालिकाको तर्फबाट सबै खाले सहयोग हुने बताउँदै यो अभियानमा जोडिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए।

गत वैशाख २० गते कोरोना सङ्क्रमणको कारणले निधन भएका देवचुली -१३ का खेम काफ्लेको स्मृतिमा प्रतिष्ठान बनाएर सुरु गरिएको अभियानको संयोजक वसन्त पोख्रेल, सह संयोजक सुरज भुसाल, सचिव माधव पौडेल, कोषाध्यक्ष चिरन पाण्डे र सदस्य अजय पङ्गेनी रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ