arrow

दार्चुलामा विद्यार्थीहरूलाई घरबाटै वार्षिक परीक्षा

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
darchula.png

दार्चुला । कोरोना संक्रमण जोखिमका कारण विद्यालय बन्द भएपछि दार्चुलामा वार्षिक परीक्षा विद्यार्थीहरूले घरबाटै दिन थालेका छन् । विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्न नसकिने स्थिति रहेकाले विद्यालयहरूले विद्यार्थीलाई घरबाटै परीक्षा दिन लगाएका हुन् । 

जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहलाई तत्कालका लागि वैकल्पिक माध्यमबाट परीक्षा गर्न अनुरोध गरेसँगै केही स्थानीय तहहरूले विद्यार्थीहरूलाई घरबाटै परीक्षा दिन लगाएका छन् । महाकाली नगरपालिकाको शिक्षा शाखाले जिल्लामा निषेधाज्ञा भएपछि घरबाटै परीक्षा दिन लगाएको विद्यालय निरीक्षक मानसिंह धामीले जानकारी दिए । कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले अहिले घरमै बसेर परीक्षा लेखिरहेका छन् । 

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा विद्यार्थीलाई कक्षागत रूपमा बोलाएर प्रश्न पत्र र उत्तर पुस्तिका उपलब्ध गराएर घरबाट परीक्षा दिन लगाइएको महेन्द्र माविका प्रधानाध्यापक रामदत्त जोशीले बताए। सुरुमा वैशाख २३ गतेसम्म विद्यार्थीलाई परीक्षाको उत्तर पुस्तिका विद्यालयमा बुझाउन भनिएको थियो तर कोरोना संक्रमण तीव्र हुदै गएपछि विद्यार्थीहरूले लेखेको उत्तर पुस्तिका बुझाउन सकेका छैनन् । प्रधानाध्यापक जोशीले भने, ‘कोरोनाको संक्रमण कम भएपछि विद्यार्थीका उत्तर पुस्तिका विद्यालयमा बुझ्छौ।’

विद्यार्थीहरूले यो परीक्षामा स्वतन्त्र रूपले लेख्न पाए पनि यसको मापन शिक्षकले गर्ने उनको भनाई छ । ‘विद्यार्थीहरूको शैक्षिक स्तर शिक्षकहरूलाई केही हदसम्म थाहा हुन्छ,’ उनले भने, ‘विद्यार्थीले उत्तर पुस्तिका हेरेर लेखेको थाहा भइहाल्छ। घरबाटै भए पनि जुन विद्यार्थीले मौलिकता दिन्छ, त्यस विद्यार्थीको पढाइ र बुझाइको स्तर पनि मापन गर्न सहज हुन्छ।’ 

यस्तै शैल्यशिखर नगरपालिकामा वैशाख १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने विद्यालयको तयारी थियो। तर त्यसको अघिल्लो दिन जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएसँगै प्रश्न पत्र र उत्तर पुस्तिका दिएर परीक्षा घरबाटै लिन लागिएको छ। जिल्लाका सबैजसो स्थानीय तहका विद्यालयले परियोजना कार्यविधिबाट परीक्षा लिन लागेका हुन्। कक्षा १ देखि ९ सम्मका सम्पूर्ण कक्षाका विद्यार्थीको परीक्षा अहिले परियोजना विधिबाट गर्न लागिएको हो। 

मालिकार्जुन गाउँपालिकाले सम्पूर्ण विद्यालयका विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने गर्दैछ। यसमा पूर्व परीक्षाफलका आधारमा ४० प्रतिशत, विषयगत परियोजना कार्यका आधारमा ४० प्रतिशत, विद्यार्थीको उपस्थितिका आधारमा १० प्रतिशत र अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा १० प्रतिशत गरी एक सय प्रतिशतको मूल्याङ्कन हुनेछ। विद्यालयले जेठ ७ गतेभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ