arrow

शङ्कर पोखरेल नआउँदा एमाले कार्यदलको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
shankar-pokharel.jpg

काठमाडौँ। सत्तारुढ दल एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक सोमबार बस्ने भनिए पनि बस्न सकेन। माधवकुमार नेपालको तर्फबाट विवाद समितिको कार्यदलमा संयोजक रहेका भीम रावलले सोमबार बैठक बस्ने प्रस्ताव गरेको भए पनि ओली पक्षबाट नेतृत्व गर्ने सुवास नेम्वाङले मङ्गलवारका लागि समय मिलाउने बताएका थिए। उनले शङ्कर पोखरेल मङ्गलवार मात्रै काठमाडौँ आइपुग्ने भएकाले कार्यदलको बैठक मङ्गलवार बस्ने बताएपछि सोमवारको बैठक बस्न सकेको थिएन।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच–पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो। वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरूलाई खबर गर्ने भनिएकोमा पोखरेल काठमाडौँ बाहिर भएर रोकिएको थियो। कार्यदलका सदस्य गोकर्ण विष्टले वार्ता कहाँ र कहिले भन्ने बारेमा दुवै तर्फको संयोजकले केही सूचना नदिएको बताएका छन्।

वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङ सहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। कार्यदलले पार्टीलाई २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्काएर त्यहीबाट नयाँ कार्य तालिकासहित अघि बढ्ने गरी प्रतिवेदन तयार पार्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ