arrow

माओवादी केन्द्र हुम्लाले डिसिसिएमसीलाई बुझायो पार्टी कार्यालय

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
humla-cpn-moist.jpg

हुम्ला । नेकपा माओवादी केन्द्र हुम्लाले सिमकोटको तल्लो बजारमा रहेको पार्टी कार्यालय जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)लाई हस्तान्तरण गरेको  छ  ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१९ को महामारीको सङ्क्रमण  जिल्लामा समेत बढिरहेका बेला यसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र सङ्क्रमितलाई राख्ने क्वारेनटिन र आइसोलेसनको अभाव हुने भएपछि कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहभागी हुने भन्दै माओवादी केन्द्र हुम्लाले यो सङ्कट अवधि भरलाई सदरमुकाम सिमकोटको तल्लो बजारमा रहेको पार्टी कार्यालय डिसिसिएमसीलाई हस्तान्तरण गरेको  हो ।

मङ्गलवार दिउसो १ बजे बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विजय भण्डारी ‘प्रतिरोध’ ले आफ्नो पार्टी कार्यालय कोभिड अवधिभर क्वारेनटिन र आइसोलेसनका लागि प्रयोग गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई पत्र सहित हस्तान्तरण गरेका हुन् ।

अहिलेको सङ्कटको अवस्थामा हामीले पार्टी कार्यालय सञ्चालन गर्नु भन्दा कोरोनाको दोस्रो  लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पार्टी कार्यालयमा भएका २ वटा हल, ३ वटा कोठा र ३ वटा शौचालय जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले आइसोलेसन बनाउने प्रयोग गरोस् भन्ने हेतुले हस्तान्तरण गरेको माओवादी जिल्ला इन्चार्ज भण्डारीले बताए । 

यो सङ्क्रमणको बेला कोरोना सङ्क्रमण फैलन नदिन हामी राजनीतिक दलको पनि उत्तिकै भूमिका हुने भएकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति हुम्लाले जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि सुरु गरेको अभियानमा हामीले हातेमालो मात्र गरेको उनले बताए । 

अहिले अरूको भन्दा स्थानीय स्तरसम्म सबैभन्दा ठुलो संरचना राजनीतिक दलहरूकै भएकाले जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरूलाई स्थानीय स्तरमा रहेका सबै संयन्त्रलाई तेरो र मेरो  नभनी कोरोना कहर विरुद्धको लडाइमा एक भएर लाग्न आव्हान गरेका प्रमुख जिल्ला अधिकारी आचार्यले कोरोना विरुद्ध नागरिक जागरण अभियान सञ्चालन भइरहेका बेला माओवादी केन्द्रले सुरु गरेको यो कार्य निकै प्रशंसनीय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ