- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेका दुवै असंवैधानिक कदमका विज्ञप्ति वेबसाइटबाट हटाएको छ । शुक्रबार राति जारी ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकका दुवै विज्ञप्ति शनिबार बेलुकी हटाइएको हो ।
राष्ट्रपति कार्यालयले यस प्रकारका वक्तव्य जारी गर्नासाथ मध्यरातमा ‘कू’ गरेको भन्दै शनिबार दिनभर सार्वजनिक रुपमा आलोचना भएकामा बेलुकी ती दुवै विज्ञप्ति हटाइएका हुन् ।
ती दुवै विज्ञप्तिको मिति र समयः जेठ ७ गते राति २३ः३८ र जेठ ८ गते बिहान ०१ः४९ बजे रहेको थियो ।
‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ शीर्षकको विज्ञप्तिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि गरेका दुबै दाबी अस्वीकृत गरिएको थियो ।
दोस्रो विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरिएको र चुनावको नयाँ मिति घोषणा गरिएको उल्लेख थियो । यी दुवै कार्य प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संविधान विपरीत संसद विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते संसद ब्युँताएको थियो ।
उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै भण्डारीले फेरि संविधान उल्लंघन गर्दै शुक्रबार मध्यरात पनि पार भइसकेको समयमा दोस्रो पटक संसद विघटन गरेकी हुन् ।
त्यसअघि संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गर्दा राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् ।
जबकि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन सक्दिन भनी घुँडा टेकेर राष्ट्रपतिलाई ७६ (५) मा जान वाध्य पारेका थिए ।
तर तिनै ओलीले फेरि ७६ (५) मा आफूलाई विश्वासको मत नदिएका एमालेका माधवकुमार नेपाल पक्षका सबै सांसद र जनता समाजवादी पार्टीका सबै सांसद समेटेर १५३ सांसदको साथ रहेको झुठो विवरण पेश गरेका थिए ।