- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरादह । झापाको गौरादह नगरपालिकाले हिजो सोमबार करिब ३ हजार केजी चामल नगर परिसरमा खाल्डो खनी गाडेको छ । ठुलो परिणाममा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरू उक्त स्थानमा पुगेका थिए ।
गत वर्ष कोरोना विपत्तिको समयमा दैनिक ज्याला मजदुर गरी जीवन गुजारा गर्ने गरिब विपन्न तथा निमुखा वर्ग लाई राहत स्वरूप वितरण गर्न भनी नगरको बिपद व्यवस्थापन कोषको मोटो बजेट रकम खर्चगरि नगरपालिकाले ठुलो परिमाणमा चामल, दाल, नुन , तेल खरिद गरेको थियो ।
गत वर्ष राहत वितरण गर्न खरिद गरेको , विभिन्न संस्थाबाट सहयोग स्वरूप आएको खाद्यान्न मध्ये सोही समयमा राहत वितरण गरी मौज्दात रहेको करिब ५ हजार केजी चामल, दाल र भुजा लगायतका खाद्यान्न मौज्दात रहेको भण्डारी शाखाका कर्मचारी अर्जुन दाहालले बताएका छन् ।
अत्यावश्यक खाद्यान्न सामग्रीहरू अव्यवस्थित तवरबाट वडा न १ स्थित जीर्ण रहेको सहकारीको गोदाममा करिब १ वर्षसम्म भण्डारण गरी राखिएकोले उक्त परिमाणको चामल सहितका खाद्यान्नहरू बिग्रिएर प्रयोग गर्न अयोग्य हुन पुगेको थियो ।
बिग्रिएर अखाद्य बनेको चामल दाल र भुजा मध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना विपत्तिको दोस्रो लहरमा राहत स्वरूप स्थानीय गरिब तथा विपन्न वर्ग लाई नगरपालिकाले वितरण गरेको थियो ।
अखाद्य बनिसकेको खाद्यान्न गरिब तथा निमुखा वर्ग लाई वितरण गरेपछि नगरको उक्त गलत कार्यप्रति नागरिक स्तरबाट व्यापक विरोध आएको थियो ।
गरिब तथा निमुखा वर्गको जनस्वास्थ्य माथि नगरपालिकाले गम्भीर खेलबाड गरेको भनी नागरिक स्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि विवादित बनेको गौरादह नगरपालिकाले पुन : सोमबार बाकी रहेको ३ हजार केजी चामल , दाल तथा भुजा लगायतका खाद्यान्नहरू नगर परिसरमा ल्याएर खाल्डो खनी गाडेको छ ।
ज्येष्ठ ६ गते नगरपालिकाले प्रयोग गर्न अयोग्य रहेको ३१२१ केजी चामल नष्ट गर्ने गरिएको गोप्य निर्णय बाहिरिए पश्चात् यदि बिग्रिएरै मानवका लागि अखाद्य बनेको उक्त खाद्यान्न कुनै गौशालामा लगेर पशु तथा चौपायालाई खुवाउन नागरिक स्तरबाट खाद्यान्न गाडिनु हुन्नभन्दै खबरदारी साथ सुझाव आएको थियो ।
नागरिक स्तरबाट आएको सुझावको बेवास्ता गर्दै सोमबार करिब ४:३० बजे नगरपालिकाले नगर परिसरमा खाल्डो खनी उक्त परिणामको खाद्यान्न गाडेको थियो ।
खाद्यान्न गाडेको जानकारी पाए पश्चात् स्थानीय नागरिक तथा युवाहरू खाद्यान्न गाडेको स्थल नगर परिसरमा सोमबार बेलुका नै उपस्थित भई नगरपालिकाको गलत कदमप्रति विरोध जनाएका थिए । आक्रोशित भिडले सोही समयमा नगरपालिकाको लज्जाजनक कार्यप्रति खेद प्रकट गरेका थिए ।
विभिन्न सन्दर्भमा पटक पटक विवादित बन्दै आएको गौरादह नगरपालिका यस पटक चामल काण्डको नामले थप विवादित बन्दै आएको छ ।
खाद्यान्न कुहाएर गाडिएको विषय निन्दनीय रहेको भन्दै गरिबलाई भोक भोकै राखेर यसरी चामल खाल्डो खनी गाडिएको देख्दा आफूलाई एकदमै नराम्रो महसुस भएको स्थानीय मिना आचार्यले बताइन ।
यस विषय सम्बन्धी जिज्ञासा राख्दा नगर उपप्रमुख गीता भेटवालले उक्त बचत रहेको खाद्यान्न मध्ये ३ हजार १ सय २१ केजी चामल खाल्डो खनी गाड्ने नगरको निर्णय भएको जानकारी दिएकी छन् ।
बिग्रिएको खाद्यान्न चौपाया लाई दिन सुझाव दिँदै आएका स्थानीय समाजसेवी खेमराज तिम्सिनाले नगरको यो कार्य एकदमै निन्दनीय रहेको बताएका छन् ।
यस गम्भीर विषयलाई गौरादहका विभिन्न सङ्घ संस्थाका व्यक्ति सरोकार पक्ष तथा नागरिकहरूले नजिकबाट नियाली रहेका छन् ।
यसैबिच गुपचुप रूपमा गाडिएको चामल लगायतका खाद्यान्न के- कस्तो अवस्था र के कति परिमाणमा गाडिएको हो ? भनी मङ्गलवार बिहान स्थानीयहरूले खाद्यान्न गाडिएको स्थान उत्खनन नगरी हेर्न खोज्दा स्थानीय हरूलाई प्रहरी प्रशासनले अवरोध गरेको थियो ।
प्रहरीको अवरोध पछि आक्रोशित स्थानीयहरूले जनप्रतिनिधिको गैर जिम्मेवार पूर्ण कामप्रति दुःख प्रकट गरेपश्चात् सञ्चारकर्मीहरूको अगुवाइमा जनप्रतिनिधिलाई सो स्थानमा अनिवार्य उपस्थित हुन अनुरोध गरेपश्चात् ढिला गरी जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै उपस्थित भएका नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले चामल लगायत खाद्यान्नहरू अव्यवस्थित भण्डारण गरी बिगार्नु नगरपालिकाको गल्ती ठुलो गल्ती भएको स्विकारेका थिए ।
नगरपालिकाको तर्फबाट गल्ती स्विकार्दै उक्त परिस्थिति सिर्जना भएकोले आगामी दिनमा यस्ता किसिमका गल्ती हुनबाट हरतरह सजक रहने भन्दै घटनाको सत्य तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
प्रवक्ताको आश्वासन पश्चात् उक्त स्थानमा भेला भएका आक्रोशित स्थानीयहरू पर्ख र हेरको स्थितिमा रहेको सो उत्खनन अभियानका अगुवा खेमराज तिम्सिनाले बताए ।
सञ्चारकर्मी हरुले निरन्तर रूपमा खबरदारी गरेपश्चात् सर्बसाधारणहरुले यस विषय बारे सार्वजनिक सुनुवाइ गरी सत्य तथ्य प्रस्तुत गर्न माग गरिरहँदा नाटकीय र गुपचुप ढङ्गबाट घटनाको ढाकछोप गर्ने मनसायले र प्रशासनको आडमा निषेधाज्ञाको समयमा सक्ती प्रयोग चामल लगायतका खाद्यान्न गाड्ने गलत कार्यको नागरिक अधिकारकर्मीहरूले नियालिरहेको अधिकारकर्मी श्याम पोखरेल बताउछ्न् ।
साथै जनताको सुसूचित हुने अधिकारलाई निस्तेज पार्ने कार्य निन्दनीय रहेकोले विषयको गाम्भिरयतालाई मध्यनजर गरी बिग्रिएको भनिएको ठुलो परिमाणको खाद्यान्न खाडल खनी नष्ट गर्नु अघि सम्बन्धित निकायले खाद्य परीक्षण नगरी खाद्यान्न डिस्पोज गर्नु निन्दनीय कार्य रहेको स्थानीय एक निवृत्त शिक्षक शिव प्रसाद दाहालले बताए ।
म लबार नगरले सत्य तथ्य सार्वजनिक गर्ने भनी प्रवक्ताले आश्वासन दिएपश्चात् उपस्थित भिड तत्काललाई साम्य भए पनि चित्तबुझ्दो विवरण नआएमा आगामी दिनमा सङ्घर्षको कार्यक्रम नै लिएर अघि बढ्ने स्थानीयहरूले बताएका छन् ।