arrow

बर्षमानको सचिवालयले महँगोमा बेच्यो अक्सिजन सिलिन्डर, प्रचार भने सित्तैमा दिलाए जस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
barsaman-pun.jpg

रोल्पा । पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृह जिल्ला रोल्पाका आठ वटा स्थानीय तहलाई बजार मूल्यभन्दा महँगोमा अक्सिजन सिलिन्डर बिक्री गरेको खुलासा भएको छ।  पुनले आफ्नो पहलकदमीमा अक्सिजन सिलिन्डर पठाएको भनिएका सिलिन्डर उनको स्वकीय सचिव सन्तोष पुनले २९ हजार तीन सय ८० रुपैयाँमा बिक्री गरेको पाइएको हो।

पूर्व मन्त्री पुनको सचिवालयले बेचेका अक्सिजन सिलिन्डरलाई सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको भन्दै उनका समर्थकले सत्कर्मको प्रचार प्रसार गराएका थिए। तर त्यो प्रचार उनको सचिवालयले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिन्डरको व्यापार गरिरहेको खुल्न आएपछि एक दिन पनि टिक्न सकेन।

विपद्‌को समयमा नेता पुनले अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउँदै चुनावी प्रचार गरिरहेको देखेपछि स्थानीय कांग्रेस–एमालेका नेताहरूले यसको तथ्य खोजी गरेका थिए। त्यसपछि उनीहरूले नीला रङका सिलिन्डरहरू स्थानीय तहलाई चर्को मूल्यमा किन्न लगाएको पत्ता लगाएका थिए । 

माओवादी कार्यकर्ताहरूले पूर्व मन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिन्डर पुर्‍याए जसरी प्रचारबाजी गरेका थिए । चाइनाबाट व्यापारीले बिक्रीका लागि ल्याएका अक्सिजन सिलिन्डर पुनका स्वकीय सचिव सन्तोष पुनले सदरमुकाम लिवाङसम्म पुर्‍याएर भ्याटसहित २९ हजार ३ सय ८० रुपैयाँ बिक्री गरेको माओवादी केन्द्रका रोल्पाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए। यद्यपि सरकारले विपद्को लागि ल्याइएका स्वास्थ्य सामग्रीमा भ्याट नलाग्ने निर्णय भएको छ।

माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिन्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेश सांसद दीपेन्द्र पुनको फोटो राखेर चुनावी प्रचार नै थालेका थिए ।

पूर्व मन्त्री पुनका स्वकीय सचिव सन्तोषले केही दिन अघि जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई अक्सिजन सिलिन्डर भए–नभएको बारेमा सोधेका थिए तर  उनले वर्षमान पुनको पहलमा सिलिन्डर आए पनि गाउँपालिका आफैँले पैसा भुक्तानी गर्नुपर्ने बताएपछि रुन्टीगढी र त्रिवेणी गाउँपालिका भने किन्न अस्वीकार गरी पछि हटेका थिए। वर्षमानको पहलमा अनुदानमार्फत सिलिन्डर आउने आस गरे पनि व्यापारिक ढङ्गले संवाद गरेको त्रिवेणी गाउँपालिका शान्तकुमार वलीले बताए।

पूर्व मन्त्री पुनको पहलमा आएका अक्सिजन सिलिन्डर आफूहरूले भुक्तानी गरेको सुनछहरी गाउँपालिका अध्यक्ष रहेका पुननिकट माओवादी कार्यकर्ता आशबहादुर पुनले स्वीकार गरे । आफ्नो गाउँपालिकाले पनि भ्याटसहित नै २९ हजार ३ सय ८० रुपैयाँको रसिद प्राप्त गरेको उनले बताए । 

एमाले रोल्पाकी नेतृ ईश्वरी जिएमले भनिन्, 'माओवादी कार्यकर्ताहरूले रोल्पाका जनतालाई नि:शुल्क सिलिन्डर उपलब्ध गराएको जस्तै गरी प्रचार गरे। उनीहरू चुनावी प्रचारमा लागेका छन्। यो भ्रम हो।' 

पूर्व मन्त्री पुनको सचिवालयले कोरोना महामारीको समयमा सेवाभन्दा पनि व्यापार गरिरहेको उनको आरोप छ। उनले सामाजिक सञ्जालमार्फत सङ्घीय सरकार, वर्षमान पुन र दीपेन्द्र पुनको पहलमा रोल्पा ल्याइएका अक्सिजन सिलिन्डर ठुलो नाफासहित व्यापार भइरहेको पनि बताइन्। 

रोल्पाका १० गाउँपालिकामध्ये एमालेले जितेको दुई पालिकाले भने ती महँगा सिलिन्डर किन्न अस्वीकार गरेका छन् । बाँकी आठ गाउँपालिकामा यसको व्यापार भएको छ । लुग्री गाउँपालिकाले पनि १० वटा त्यस्ता अक्सिजन सिलिन्डर किनेको खुल्न आएको छ। 

लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले पूर्व मन्त्री पुनको समन्वयमा आफ्नो गाउँपालिकामा १० पीस सिलिन्डर आएको जानकारी दिए। उनका अनुसार भ्याटसहित २९ हजार ३ सय ८० मा गाउँपालिकाले खरिद गरेको बताए। आफूहरूलाई कहाँबाट कसले ल्याएको भन्ने कुनै जानकारी नभएको र वर्षमानको स्वकीय सचिवको सम्पर्कमा सदरमुकाम लिवाङदेखि गाउँपालिकासम्म आफ्नै गाडीमा  सिलिन्डर ल्याएको उनले बताए।

अघिल्लो दिन सामाजिक सञ्जालमा आलोचित वनमन्त्री प्रेमबहादुर आलेले नीलो रङ्गको ४० किलोको सोही कम्पनीको उस्तै सिलिन्डर गृह जिल्ला डोटीमा २३ हजार रुपैयाँमा किनेर वितरण गरेको सार्वजनिक गरेका छन्।



नयाँ