arrow

सूचना विभागको कार्ड नहुँदा पत्रकारलाई समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
dept-information.jpg
फाइल तस्बिर

भक्तपुर। निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ। कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ।

सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ। विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मी सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नुपरेको छ।

कतिपय पत्रकारले कार्यक्षेत्रमा नगई फर्कनु परेको छ भने कतिपयले आफ्नो चिनेको प्रहरीसँग हारगुहार गर्दै जानुपर्ने अवस्था आएको कोटेश्वरबाट नागरिक दैनिकका एक सञ्चारकर्मीले बताए।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा दिन नसक्ने भन्दै सम्बन्धित सञ्चार गृहले नियुक्त पत्र नदिँदा धेरै पत्रकारले मात्रै होइन सम्पादक तहमा कार्यरत सञ्चारकर्मीले समेत विभागद्वारा जारी गरिएको परिचयपत्र पाउन सकेका छैनन्।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले सूचना विभागले जारी गरेको परिचयपत्र नहुने पत्रकारलाई बाटोमा नै रोकेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयसँग सहजीकरणको लागि पहल गरिएको जानकारी दिए।

मिडिया हाउसको परिचयपत्र र पत्रकारको ज्याकेटको दुरुपयोग भइरहेको जनाउँदै उनले सरकारले त्यसलाई नियन्त्रण गर्ने र कार्यक्षेत्रमा खटिने पत्रकारलाई समस्या नपर्ने गरी विभागले जारी गरेको, मिडिया हाउसले जारी गरेको वा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्रमध्ये एउटाले पनि हिँड्न पाउने व्यवस्था गर्नका लागि महासङ्घले पहल गरेको बताए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले माथिको आदेशअनुसार नै कार्यक्षेत्रमा खटिएका प्रहरीले पास नहुने सबैलाई रोकेको जनाउँदै पत्रकारले पनि प्रशासनले गरेको व्यवस्थाअनुसार चलिदिनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना विभागद्वारा जारी परिचयपत्र नहुनेलाई सम्बन्धित मिडिया हाउसको सिफारिसमा प्रशासनले पास बनाइदिने व्यवस्था गरेको जानकारी दिए। विभागले दिएको परिचयपत्र वा प्रशासनले जारी गरेको पास नहुनेलाई भने रोक लगाइने  उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ