arrow

पत्रकार महासंघ यूकेमा विवाद, निर्वाचन कार्यक्रम स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
FNJ-pp.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघ युकेको आउँदो १३ जुनका लागि तोकिएको पाँचौ महाधिवेशन अगावै विवाद चर्किए पछि केन्द्रले हस्तक्षेप गरेको छ।

केन्द्रिय प्रतिनिधि तथा शाखाका सल्लाहकार भगीरथ योगीले एक पत्र लेखि नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार शनिबार मे २९ तारिखदेखि लागू हुने गरी निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। उनले शाखाको गत ९ तारिख बसेको बैठकको निर्णय अनुसार १३ जुनमा भर्चुएल माध्यमबाट अधिवेशन हुने पनि जनाएका छन्।

नेपाल पत्रकार महासंघ युकेका महासचिव संजयभक्त कंडेलले निर्वाचन समितिले शाखाले दिएको म्यान्डेट विपरित जवर्जस्ती पोस्टल भोटिंग सहितको कार्यक्रम प्रकाशन गरेको, निर्वाचन समितिको बैठकमा आफुलाई न बोलाइएको, र निर्वाचन समितिका संयोजकले आचारसंहिता विपरित काम गरेको जस्ता गम्भीर आरोप लगाएका थिए।

त्यस्तै उनले बेलायतमा कोभिड १९ का कारण सरकारले कडा प्रतिबन्धहरु लगाइरहेकै अवस्थामा पत्रकार महासंघ युकेका सदस्यहरुको जीवन र स्वास्थ्यमाथि नै गम्भीर जोखिम उत्पन्न हुने गरी ‘इन्डियन भेरियन्ट’ बाट सबैभन्दा बढी प्रभावित पश्चिम लन्डनको साउथ ह्यारोस्थित एउटा रेस्टुरेन्टलाई निर्वाचन स्थल तोक्ने जस्तो गैर जिम्मेवार कार्य गरेको आरोप लगाएका थिए।महासचिव कंडेलले उठाएका विषयहरुको कार्यसमिति वा निर्वाचन समितिले अहिलेसम्म कुनै जवाफ दिएको छैन।

तर शुक्रबार राती शाखाका अध्यक्ष नरेश खपांगीले एक पत्र पठाउंदै शाखाले निर्वाचन समिति भङ्ग गर्ने कुनै निर्णय नगरेको बताउंदै निर्वाचन समितिलाई निर्वाधरुपमा पूर्ववत् आफ्ना कार्यक्रमहरु सन्चालन गर्न भनेका थिए।

केन्द्रिय प्रतिनिधिले आफ्नो पत्रमा नेपाल पत्रकार महासंघ युके शाखाको अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिको क्षेत्राधिकार, कार्यशैली तथा म्यान्डेटबारे शाखाकै जिम्मेवार पदाधिकारीहरुले गम्भीर प्रश्नहरु उठाएको तथा शाखामा उत्पन्न पछिल्लो विवादले शाखाको एकता र भविष्यमाथि नै संकट उत्पन्न गरेकोबारे नेपाल पत्रकार महासंघ केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

'ब्रिटिश सरकारको पछिल्लो स्वास्थ्य मापदण्डहरुलाई समेत मद्देनजर गरी नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरुको जीवन र स्वास्थ्य माथि कुनै पनि किसिमको जोखिम उत्पन्न नहोस् भन्ने उद्देश्यले मिति २९ मे २०२१ देखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि नेपाल पत्रकार महासंघ युके शाखाको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशानुसार जानकारी गराउंछु,' पत्रमा उल्लेख छ।

यसअघि नेपाल पत्रकार महासंघ केन्द्रले समय मै हस्तक्षेप नगर्दा एकैदिन नेपाल पत्रकार महासंघ यूरोपका दुइ ओटा समानान्तर अधिवेशन भएका थिए भने कुन समिति वैध हो भन्ने विवाद अद्यापि कायमै छ।

केन्द्रिय प्रतिनिधि समेत रहेका वरिष्ठ पत्रकार योगीले एउटै संस्थाभित्र काम गर्दा कुनै पनि किसिमको मतभेद भए त्यसलाई संस्था भित्रै छलफल र वार्ताद्वारा समाधान गर्न र सार्वजनिक रुपमा वक्तव्य दिने, सामाजिक संजालमा टिप्पणी गर्ने, अन्तर्वार्ता दिने जस्ता कामहरु तत्काल बन्द गर्न शाखाका सबै जिम्मेवार सदस्य तथा पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

महासंघ यूके शाखाका विवाद बढेपछि नेपाल प्रेस यूनियन यूके र यूरोप शाखाले महासंघ जस्तो गरिमामय छाता संस्थामाथि एकलौटी नगर्न आग्रह गरेका थिए । युनियन यूके शाखाका सभापति विपिन निरौलाले सर्वसम्मत निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै विधानमै नभएको र बैठकले म्यान्डेड नै नदिएको पोष्टल भोट लगायतका निर्णय सहितको निर्वाचन नियमावली जारी गर्नुलाई षडयन्त्रपूर्ण भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ