arrow

पाँच विपक्षी गठबन्धनद्वारा राज्यका अङ्ग र निकायलाई आग्रह : संविधान विपरीतका काममा सहयोगी नहुनु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
deuba-prachanda-nepal-yadav.jpg
फाइल तस्बिर

काठमाडौँ। विपक्षी पाँच दल आबद्ध गठबन्धनले राज्यका अङ्ग र निकायलाई सरकारको असंवैधानिक तथा अलोकतान्त्रिक काममा सहयोगी नहुन आग्रह गरेको छ। आइतबार बिहान नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द-बाबुराम समूह, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले राज्यका अङ्ग र निकायलाई संविधान विपरीतका काममा सहयोगी नहुन आग्रह गरेको हो।

‘बहुमत पुर्‍याएर वैकल्पिक सरकारका लागि विधिवत् दाबी गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौँ, सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अङ्ग र निकायलाई पनि आग्रह गर्दछौँ,’ गठबन्धन आबद्ध पाँच दलको बैठकपछि शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बैठकले अध्यादेशबाट बजेट ल्याएर सरकारले एकपछि अर्को गर्दै संविधान उल्लङ्घन गरेको समेत भनेको छ। यस्तै सरकारको संरक्षणमा भ्रष्टाचार र कमिसन खोरी बढेको तथा राज्य संयन्त्रको स्वेच्छाचारी रूपमा दुरुपयोग भएको विपक्षी दलहरूले भनेका छन्।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैतिरबाट ओली सरकारलाई दबाब दिएर सशक्त प्रतिकार गर्ने निर्णय भएको जानकारी दिए । उनले कानुनी र राजनीतिक लडाइँ सँगसँगै हुने बताए।

बैठकमा काङ्ग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेताहरू सहभागी थिए।

त्यस्तै एमालेबाट नेता नेपाल र भीम रावल सहभागी छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङ सहितका नेता सहभागी थिए।

जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि छलफलमा सहभागी छन्। राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी थिइन्।



नयाँ