- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जुम्ला । जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, “संक्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।”
अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ ।
आइतबारसम्म जुम्लाको कोरोना संक्रमितको सङ्ख्या ४९६ पुगेको छ । यस्तै कोरोना संक्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।