arrow

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

logo
हरि पन्त
प्रकाशित २०७८ जेठ २७ बिहिबार
Prithivi_subba_intervew36582.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् ।विश्वासको मतका लागि गुरुङले राखेको प्रस्तावउपर प्रदेशसभाको बिहीबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरेका हुन् । विश्वास प्राप्त गर्न गुरुङलाई ३१ मत आवश्यक थियो । तर उनले जम्मा २७ मत पाएका छन् । उनको विपक्षमा ३० मत परेको छ । 

यस्तै मत दिन्न भन्ने वा तटस्थमा एक मत परेको छ । दीपक मनांगे सहभागी भएनन् । संसदमा जम्मा ५८ सांसद उपस्थित थिए । प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतका सांसदले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिएनन् । 

गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । यो अंकगणितअनुसार सरकारका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२ र जसपाका दुई, राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । एक जना स्वतन्त्र हैसियतमा छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको जानकारी सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई दिनेछन् ।  संसद्बाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङले अब स्वत पदमुक्त भएका छन् ।

उनलाई काम चलाउ मुख्यमन्त्री तोकेर प्रदेश प्रमुखद्धारा संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान हुनेछ । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन् ।

बहुमतको आधारसहित आजै(विहीबार) उनीहरूले प्रदेश प्रमुखसमक्ष जाने तयारी भइरहेको छ । विपक्षीहरुले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् ।

सो प्रदेशमा अब नयाँ सरकार गठनका लागि संविधानको धारा १६८(५)अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । गुरुङ १६८(३) अनुसार  मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ