arrow

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
hurupes.jpg

काठमाडौँ ।  विश्व रक्तदाता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

२०७८ जेठ ३१ गते काठमाडौँ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सूर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गरेका थिए ।

यसै गरी शान्ति समाज नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिराहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरेका थिए ।

शान्ति समाज रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरेका थिए भने शान्ति समाज नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित ८ जनाले रक्तदान गरेका थिए । यसै गरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा सम्पन्न रक्तदान कार्यक्रममा डा. रेखा रेग्मीसहित २० जनाले र शान्ति समाज चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा ६ जनाले रक्तदान गरेका थिए ।  

यसै गरी शान्ति समाज ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ७ दर्जन बढीले रक्तदान गरेका थिए । जेठ ३१ गते नै शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २ दर्जन बढीले रक्तदान गरेका थिए भने शान्ति समाज कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका थिए ।

यसै गरी २०७८ जेठ २९ गते शान्ति समाज पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगन्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुन्जय वर्णवाल, विमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरेका थिए । यस्तै विश्व रक्तदाता दिवसका दिन जेठ ३१ गते शान्ति समाज दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका व्यक्ति र सङ्घ संस्थाहरूको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ