arrow

काठमाडौं मेडिकल कलेजले माइती नेपाललाई ५० लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
kmc.JPG

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले माइती नेपाललाई पचास रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। माइती नेपालको सिफारिसमा आउने बिरामीहरूलाई अस्पतालले ५० लाख मूल्य बराबरको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको हो।

यसका लागि आज (बिहीबार)काठमाडौँ मेडिकल कलेजका अध्यक्ष डा. सुनिल कुमार शर्मा र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाबिच सम्झौता भएको हो। सम्झौता पत्रमा डा. शर्मा र अध्यक्ष कोइराला दुवैले हस्ताक्षर गरेका छन्।

योसँगै अब, माइती नेपालको सिफारिसमा उपचार गर्न आउने बिरामीले औषधि बाहेकका सबै सेवा निःशुल्क पाउने छ। आपत्कालीन  अवस्थामा उपचार गर्न परेमा माइती नेपाल पक्षले फोन सम्पर्क गराएर उपचार गराउन सक्ने छ भने, त्यसको २४ घण्टाभित्रमा अस्पताललाई सिफारिस पत्र पठाउनुपर्ने छ।

यसका लागि माइती नेपालका चन्द्र डाँगी(९८६७९७६४४३) र रजनी गुरुङ(९८४११९६४०५)लाई सम्पर्क गर्न सकिने छ। यस्तै काठमाडौँ मेडिकल कलेजको तर्फबाट क्षितिज निरौला (९८०२३३५१०५), पूजा श्रेष्ठ (९८०२३३५१०७) र सबिता ढुङ्गाना(९८०२३३५१०९)लाई सम्पर्क गर्न सकिने छ।

माइती नेपालले घरेलु हिंसा, यौन हिंसा, मानव बेचबिखन एवं बालश्रमलगायत विरुद्ध काम गर्दै आएको छ। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले पनि यस्ता क्षेत्रका बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ।  यसै अनुरूप आउँदो वर्षको असार मसान्तसम्मका लागि यो सम्झौता भएको हो।

माइती नेपालसँग खास गरी जबरजस्ती यौन व्यवसायमा लगाइएका दशौँ हजार पीडित, हजारौँ एचआइभी सङ्क्रमित र सयौँ अनाथहरूको निःशुल्क उपचार गर्ने सम्झौता भएको अस्पतालका अध्यक्ष डा. सुनिलकुमार शर्माले बताएका छन्।

अध्यक्ष डा. शर्माले सामाजिक क्षेत्रमा र खास गरी माइती नेपालसँगको सहकार्यमा सेवा गर्न पाउँदा खुसी लागेको बताए। काठमाडौँ मेडिकल कलेजले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत पहिलेदेखि नै विशेष किसिमले सेवा प्रदान गर्दै आएको छ। यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने।

सम्झौता अनुसार काठमाडौँ मेडिकल कलेज केएमसीले औषधी बाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गर्ने छ। सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन्।

बिहीवार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रम पछि बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचबिखन विरुद्धको कार्यमा राष्ट्रको लागि योगदान पुर्‍याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले जर्वजस्ती यौनजन्य कार्यमा धकेलिएका महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पीडित र अनाथ बालबालिकाको उपचारमा टेवा पुग्ने विश्वास लिएको बताए। 

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको सिकार भएका महिला तथा बालबालिकाहरूको उपचार तथा पुनर्स्थापनामा काठमाडौँ मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन्।

राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा एचआइभी पीडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास कोइरालाको छ। 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू ल्याएको छ। यसअघि गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरू समेत सञ्चालनमा ल्याउने शर्माले जानकारी दिए। अस्पतालले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ।

काठमाडौँ मेडिकल कलेजमा डा. शर्माको प्रवेशसँगै ओपिडी सेवा समेत निःशुल्क गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ