arrow

भूतपूर्व गोर्खा सैनिकहरुको भोक हड्ताल स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
brtitish-gurkha.jpg
तस्वीर सौजन्यः शिव भण्डारी

लन्डन । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुले घोषणा गरेको १५ दिने रिले भोक हड्तालको कार्यक्रम तीन साताका लागि स्थगित गरेका छन्।

समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि जुलाइ १ देखि ब्रिटिश प्रधानमन्त्रीको कार्यालय अगाडि गर्ने घोषणा गरेको भोक हड्तालको कार्यक्रम आउंदो जुलाइ २१ सम्मका लागि  स्थगन गरेको हो ।

‘नेपाल सरकारले हामीलाई एक पत्र पठाएर भूतपूर्व गोर्खाहरुका माग सम्वोधन गर्न पहल गर्ने आश्वासन दिएकाले हामीले हाम्रो संघर्षको कार्यक्रम तीन साता पर सारेका हौँ,’ गोर्खा सत्याग्रहका कार्यक्रम निर्देशक ज्ञानराज राईले जीएनएनलाई भने।  ‘आउंदो तीन साता भित्र हाम्रा माग पुरा नभए हामीले फेरी आन्दोलन शुरु गर्ने छौं,’ उनले भने ।

बेलायतमा कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरु जुलाइ १९ सम्म लागू रहेको कारणले पनि आफुहरुले विरोध कार्यक्रम पर सारेको उनले जनाए। गोर्खा सत्याग्रहले नेपाल तथा ब्रिटिश सरकारलाई वार्ता टोलि गठन गर्न र वार्ताको मिति तथा वार्ता हुने स्थल समेत तोक्न माग गर्दै आएको छ।

यसअघि नेपाल तथा ब्रिटिश सरकारलाई दबाब दिन जुलाइ १ देखि १५ दिन रिले भोक हडताल गर्ने र त्यस बेला सम्म पनि आफ्ना मागहरु सम्बोधन नगरिए गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंग र पुष्पा राना  घलेले आमरण अनशन बस्ने जनाएका थिए ।

भोक हडतालको कार्यक्रम पर सारिए पनि गोर्खा सत्याग्रहले बिहीबार (१ जुलाई)मा सेन्ट्रल लन्डनस्थित गोर्खा स्मारक अगाडिबाट एक जुलुस प्रदर्शन गर्न लागेको छ।

भूतपूर्व गोर्खा सैनिकहरूले अन्य बेलायती सिपाहीसरह दर्जाअनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरूलाई एक पटकका लागि एकमुष्ट रकम दिइनुपर्ने, दर्जा र सेवाको अवधिअनुसार क्षतिपूर्ति पाउनुपर्ने, नियमित सेवापश्चात् निवृत्त वा बर्खास्त भएका तर हाल मृत्यु भइसकेका बेलायती गोर्खाका छोराछोरीहरूले  ‘गुडवील पेमेन्ट’ पाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।

\गत १७ जुनमा  गोर्खा सत्याग्रहले सेन्ट्रल लन्डनमा योजना गरेको विरोध प्रदर्शनमा बेलायतस्थित सिख समुदाय तथा भूतपूर्व ब्रिटिश सैनिकहरुले पनि ऐक्यबद्धता जनाएका थिए। -जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ