- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष भने नजाने भएको छ । २०७५ जेठ २ को स्थितिमा केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष जान नचाहेपछि नेपाल–खनाल पक्षले बैठकमा बस्न रुची नदेखाएको हो ।
सर्वोच्च अदालतले ओलीले एकलौटी ढङ्गले गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटी भङ्ग गरिदिए पनि ओलीले आफ्ना गतिविधि भने कायमै राखेका छन् ।
सोही कारण नेपाल–खनाल पक्ष रुष्ट भएको छ । विधानविपरीत ओली पक्ष चलिरहेको भन्दै नेपाल–खनाल पक्षीय नेताहरुको बिहीबार बसेको बैठकले ओली पक्षले बोलाएको बैठकमा सहभागी नहुने जनाएको हो । उसले नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत ओली पक्ष चलिरहेको निश्कर्ष निकालेको छ ।
उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरेर मात्र पार्टी एकता सम्भव हुने नेपाल–खनाल पक्षको भनाइ छ ।
एमालेका दोस्रो तहका नेताहरुको छलफल भने तीव्र रुपमा अगाडि बढिरहेको छ । पार्टी एकता जोगाउने अन्तिम कसरत स्वरुप दोस्रो तहका नेताहरु केही हप्तादेखि निरन्तर लागिरहेका छन् ।
दुवै तर्फका नेताहरुले बिहीबार पनि दुई पटक छलफल गरेका छन् । छलफलमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल रहेका थिए भने नेपाल–खनाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी भएका थिए ।
एकताका लागि प्रयासरत नेपाल–खनाल पक्षका नेताहरुले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव गरेका छन् । तर ओली पक्षले भने त्यसलाई सुनिरहेको छैन ।