arrow

केपी र माधव नजिकिँदा विपक्षी गठबन्धन धरापमा, देउवाले बोलाएको बैठकमा गएनन् नेपाल

केही दिनमै भद्र सहमति सहित ब्रेक थ्रु गराउने गरी काम हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २२ मंगलबार
deuba-dahal-nepal-four-five-parties.jpg
फाइल तस्बिर

काठमाडौँ । एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय हुँदै जाँदा विपक्षी दलको गठबन्धन धरापमा पर्ने सङ्केत देखिएको छ। सोमबार साँझ विपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई बोलाएको भए पनि नेपाल बुढानीलकण्ठ पुगेनन् । नेपाल नगएपछि प्रचण्ड पनि आधा घण्टा मात्रै बसेर फर्केका थिए। श्रीमती सिता दाहाल र छोरीको जन्मदिन मनाउन गोदावरी रिसोर्टमा पुगेका प्रचण्ड बुढानीलकण्ठ पुग्दा नेपाल भने नगएपछि तीन नेताहरूको छलफल रोकिएको थियो। 

सोमबार मात्रै एमालेको विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतिएर सिंहदरबारमा छलफल चलिरहेको थियो। ‘निर्वाचन आयोगले निकालेको कार्य तालिका र सर्वोच्च अदतलालमा संसद् पुर्न स्थापना सम्बन्धी बहस हिजै सकिएकाले त्यसबारेमा छलफल गर्न तीन प्रधानमन्त्रीको बैठक बस्ने कुरा थियो तर माधव नेपाल नगएपछि सो छलफल भएन’, गठबन्धन निकट स्रोतले भन्यो । तीन प्रधानमन्त्री हरूबिच हुने छलफलमा माधव नेपाल नपुगेपछि प्रचण्ड भने तनावमा परेका थिए । 

काँग्रेसलाई यति बेला सत्ताभन्दा पनि आन्तरिक रूपमा महाधिवेशन नजिक आएकाले ध्यान महाधिवेशनतिर मात्रै भएको र विपक्षी गठबन्धन पनि सङ्कटमा पर्ने अवस्था आएपछि प्रचण्ड समेत तनावमा परेका हुन् । तनावमा रहेका उनी मङ्गलवार बिहान जनकपुर गएका थिए । जनकपुरबाट उनी सिधै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । पहिला पहिला प्रचण्ड भेट्न नेपाल आफै खुमलटार धाउँथे तर अहिले प्रचण्ड कोटेश्वर धाउन थालेका छन् । ‘पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न कोटेश्वर जानु भएको हो अन्यथा कुनै कारण छैन’, प्रचण्ड निकट स्रोतले भन्यो ।

एमालेभित्रको आन्तरिक विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुलाई एमाले वृत्तले निको रूपमा लिएको छैन । सिंहदरबारमा कार्यदल तहको छलफल दोस्रो दिन जारी रहेका बेला नेपाल निवासमा प्रचण्ड र माधव नेपालबिच एक घण्टा भेटवार्ता भएको हो । कार्यदल फेरि ब्युँतिएर सहमति खोजी भइरहेका बेला प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेर फेरी माधव नेपाललाई बिथोलेको आशङ्का एमाले कार्यकर्ताले गरेका हुन् । यद्यपि एमालेका विवादको विषयमा उनीहरूबिच कुनै पनि कुराकानी नभएको बताइएको छ । 

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठन गरेर निष्क्रिय रहेको कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका बीचमा वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेसँगै एमालेभित्रको विवाद करिब मिल्ने दिशामा गएपछि माधव नेपालसहित बनेको विपक्षी दलको गठबन्धन धरापमा पर्ने खतरा बढेको हो । ओली पक्षले जसरी पनि माधव नेपाललाई विपक्षी दलको गठबन्धनबाट अलग गराउने र पार्टीको विवाद समाधान गर्ने दिशातिर उन्मुख गराएका छन् । 

नेपाल पक्षले उठाउँदै आएका मागलाई ओली पक्षले सम्बोधन गर्दै लगेको र अबको केही दिनमा दुई नेताहरूबिच भद्र सहमति हुने अपेक्षा एमालेका नेता कार्यकर्ताले गरेका छन् । पछिल्लो तीन दिनयता ओली आफै विवाद मिलाउने तहमा लागेका छन् । कुनै न कुनै तहबाट विवाद मिलाउनु पर्छ भन्दै आफू निकटका नेताहरूलाई संयमता अपनाउन समेत आग्रह गरिसकेका छन् । ‘अध्यक्ष आफै विवाद मिलाउनुपर्छ भनेर लाग्नु भएको छ हामीलाई लाग्छ केही दिनमै ब्रेक थ्रु हुन्छ’, ओली निकट एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ