arrow

तेल पानी एकै पिना बाहिर, ओली र नेपाल मिल्दा बादल बाहिर, फकाउने जिम्मा ओलीलाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २५ शुक्रबार
oli-nepal-meet-second.jpg
फाइल तस्बिर

काठमाडौँ। आन्तरिक विवादमा रुमल्लिएको एमालेभित्र निशर्त पार्टीका पूर्ववत् कमिटीहरू व्यूतने भएका छन्। शुक्रवार एमाले कार्यदलका सदस्यहरूले २०७५ जेठ २ अघिको पार्टी संरचना  ब्युँताउने र नेपाल पक्षलाई सम्मानजनक स्थान दिने सहमति गरेका हुन्।

यस्तो सहमति गर्दा माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरू पार्टी बाहिरै रहने तर उनीहरूलाई तत्कालै विधान संशोधन गरेर मनोनयन गर्ने सहमति समेत भएको छ। माओवादीबाट एमालेमा आएका नेताहरूलाई अपमानजनक र विधिबाहिरबाट होइन विधिबाटै विधान संशोधन गरेर पार्टीमा स्वागत गरौँ भन्ने धारणा राखेपछि उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनाउनु पर्ने गरी दुई पक्ष सहमतिमा पुगेका हुन्। 

सतहमा देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि (शनिवार) हस्ताक्षर हुने विश्वास व्यक्त गरे। उनले सबै विषयमा लगभग सहमति भएको र शनिवार टुङ्गिने उनले बताए। ‘शुक्रवार सहमति भएको छ, भाषिकलगायत बाँकी प्राविधिक कुरा भोलि टुङ्गिन्छ, दिउँसो साढे १२ बजेदेखि राति साढे ८ बजेसम्म एउटै कोठामा बसेर निरन्तर छलफल गरेपछिको परिणाम लगभग सहमति भएको हो’,नेम्वाङले भने।

शुक्रवार कार्यदलको बैठकमा माधव नेपाल पक्षका नेताहरू विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरको सम्बन्धमा कुनै पनि धारणा सार्वजनिक नगर्ने र अदालतलाई प्रभाव र दबाब पर्ने गरी कुनै पनि विषयवस्तु उल्लेख नगर्ने सहमति भएको छ। साथै उनीहरूले हस्ताक्षर फिर्ताको बारेमा पनि मौन बस्ने भएका छन्।

‘अदालतको विषयमा कुनै पनि कुरा बाहिर आउनेछैन , तर अदालतले जे आदेश गर्छ त्यसलाई पार्टी हितमा लगाउने र त्यसमा नेपाल पक्षले कुनै पनि प्रकारको धोका नदिने सहमति भने भएको छ’, कार्यदलका एक सदस्यले भने। उनका अनुसार शक्ति  बाँडफाँडको विषयमा भने ओली–नेपाल दुवै जनाले भद्र सहमति गर्नेछन्। त्यो सहमतिको बारेमा भने कार्यदलका कुनै पनि सदस्यहरू बोल्न चाहँदैनन्।

ओलीले नेपाललाई कार्यकारी अधिकारसहितको दोस्रो अध्यक्ष प्रस्ताव गरेको भए पनि नेपालले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर सहमति भएमा नेपालले दोस्रो अध्यक्ष र निर्वाचन आयोगमा हस्ताक्षर गर्ने गरी अधिकार लिएर पार्टी सञ्चालनको जिम्मेवारी लिए भने आश्चर्य नहुने एक सदस्यले दाबी गरेका छन्। ‘उहाँलाई कार्यकारी अधिकारसहितको कुरा आएको छ पार्टीका सदस्यलाई संरक्षण गर्न पनि त्यो अधिकार आवश्यक छ भन्ने दबाब रहेकाले त्यो स्विकार्न सक्ने सम्भावना रहेको छ’, स्रोतले भन्यो। 

कार्यदलको बैठकबारे एमाले प्रवक्तासमेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलमा सहमति भएको र भाषिक कुरा मिलाएर शनिवार  अन्तिम रूप दिइने बताएका छन्। उनले केही भाषिक र प्राविधिक कुरा मिलाउन बाकी रहेको बताएका छन्। ‘हामी सहमति गर्न लागि पर्ने कोही, सहमति भत्काउन लागि परेकाले सहमतिका विषयवस्तु हस्ताक्षर भएपछि मात्र थाहा पाउनु हुन्छ,’ ज्ञवालीले भने।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्नुपर्ने संस्थापन पक्षको मागमा नेपाल पक्ष सहमत हुन सकेको थिएन। एमाले कार्यदलमा नेपाल पक्षका सदस्य गोकर्ण विष्टले आफूहरू सबै विषयमा सहमति नजिक पुगेको बताए। कार्यदलले सहमति गरेको विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गरेर सहमति सार्वजनिक गर्ने कार्यदलका नेताहरूले बताएका छन्। कार्यदलले तयार पारेको मस्यौदा दुवै नेताहरूलाई पठाइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ