arrow

माधव नेपाल थापासँग झोँक्किए, २३ सांसदको हस्ताक्षरमै अडिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
madhav-kumar-nepal_1617970427.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक संजालमा प्रेसित स्टाटसप्रति आपत्ति जनाएका छन् । 

आइतबार राति एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत रहेको नेता नेपालले बताएका छन् । 

उनले ‘यो व्याख्या गलत र अस्वीकार्य छ’ भनेका छन् । उनले ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु’ भनेका छन् । 

सूर्य थापाले लेखेका थिए, ‘हिसाब–किताब ? शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६–२३ बराबर १२३ मात्र सर्वोच्चद्धारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’ 

यो स्टाटसमा माधव नेपालले दिएको प्रतिक्रियापछि पनि सूर्य थापा भने रोकिएनन् । उनले थप लेखे, ‘मैले देउवा महोदयलाई लेखेको थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन होला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो होला ! बरू एकाबिहानै आएको टिप्पणी अदालतको निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेको देखें मैले त ! कसो होला ? फाटेको जालोले छेकेको !’

त्यसो त एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. विजय पौडेलले ‘सर्वोच्चले सूर्य थापाको आदेश मान्छ जस्तो’ भनी लेखेको स्टाटसमा फेरि सूर्य थापाले आक्रोश पोखे, ‘डा. धेरै मर्माहत नहुनु ! प्रचण्डपथमा लामबद्द भएको देखिएकै छ, पार्टी कार्यदलको सहमति सर्वोच्चले नोटिसमा लिनेछ नै, आँखामा पट्टि बाँधेर भ्रम छर्नुलाई बकबास भन्छन् । मेरो आदेश भनेको छु ? राजनीतिक अर्थशास्त्र पढेको मान्छेका यस्ता दुराग्रह ? कृत्ये, टिपेष्ट काण्डको त काम भएन, होइन र !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ