यसकारण रोकियो माधव नेपालसँगको सहमति, कसरी भड्किए नेपाल ?
आइतवार राती नै कार्यदलमा तयार सहमति सार्वजनिक हुँदै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २७ आइतबार
2.4k
Shares
फाइल तस्बिर
काठमाडौँ। नेकपा एमालेको आन्तरिक विवाद निरूपण गर्ने क्रममा पाँच दिनदेखि माधवकुमार नेपाललाई मनाउने प्रयास असफल भएको छ । असार २३ गते दुई नेताहरू केपी शर्मा ओली र माधवकुमार नेपालबिच भेटघाट भए देखिनै सहमतिका विभिन्न प्रयास भए पनि आइतबार रातीसम्म पनि माधव नेपालले सहमतिको प्रस्तावमा हस्ताक्षर गर्न नमान्दा विवाद निरूपणमा ठेस लागेको छ ।
पछिल्लो पटक नेता नेपालले पार्टीलाई बहुमत अल्पमतको प्रणालीबाट होइन सहमतीय प्रणालीबाट चल्नु पर्ने अडान राखेको र केपी ओलीबाट ठोस र मूर्त कुरा नआएको भन्दै उनले सहमतिको प्रस्तावमा हस्ताक्षर गर्न मानेनन् । हस्ताक्षरका लागि मनाउन गएका घनश्याम भूषाललाई पनि उनले मेरो सहमति बेगर कोही कसैले गरिएको हस्ताक्षरमा मेरो जिम्मेवारी नहुने भन्दै चेतावनी दिएका छन् ।
‘मैले गठन गरेको हो कार्यदल अरूले गठन गरेको होइन मेरो सहमति बेगर सम्झौता गर्ने विवाद मिल्यो भन्ने जस्ता काम भएका छन् त्यो गलत छ। त्यस कारण म त्यसको जिम्मेवारी लिन्न’, नेपालले भूषाललाई चेतावनी दिएका थिए । उनले फेरी पनि ओलीले बहुमतमै आधारमा पेल्ने भएकाले पार्टीभित्र बहुमत अल्पतको विषय हुन्न भन्ने ग्यारेन्टी ल्याउन समेत आग्रह गरेका थिए ।
बहुमत अल्पमतको खेलले पार्टीलाई बलियो बनाउने भन्दा नबनाउने भएकाले महाधिवेशन अघिसम्म पार्टी सञ्चालनको प्रक्रियालाई सहमतीय प्रणालीमा लैजाने ग्यारेन्टी हुनुपर्ने नेपालले अडान राखेका हुन् । उनले कार्यदलले तयार पारेको मस्यौदाको बारेमा छलफल गर्दै सर्वोच्च अदालतबाट आउने फैसलालाई प्रभावमा पार्ने र प्रतिकुल पार्ने कुनै पनि निर्णयमा आफूले हस्ताक्षर नगर्ने बताउँदै त्यस्ता सबै भाषाहरू हटाएर आए मात्रै हस्ताक्षर गर्ने बताएका हुन् । यद्यपि नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट भने सहमति गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेका छन् ।
आइतबार दिनभरको बैठकमा पनि उनीहरूले सहमतिका लागि अधिकतक पहल गरेका थिए । कार्यदलमा भएको प्रगतिको विषयलाई लिएर गएका घनश्याम भूषाललाई माधव नेपालले अदालतको निर्णयलाई प्रभावमा पार्न ओलीले फालेको जालमा आफू नपर्ने भन्दै त्यस्तो सहमति नगर्ने जनाएका थिए । नेपाल नेपाललाई आफू बिसन्चोमा रहेको भने पनि आइतबार दिनभर आफू निकटका कार्यकर्ता र नेताहरूसँग छलफलमा रहेका थिए त्यही क्रममा भुसालले सहमतिका लागि लगेको प्रस्तावलाई अस्वीकार गरिदिए ।
शनिवार राती र आइतबार बिहान आफू निकट स्थायी कमिटी सदस्य र दिउसो केही केन्द्रीय सदस्यहरूसँग छलफल गरेपछि नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने मस्यौदामा हस्ताक्षर नगर्ने पुरानै अडान भए पनि पार्टीको विवाद मिलिसकेकाले यसअघि सबै निर्णयहरू खारेज गरिएको छ भन्ने वाक्यांशप्रति आपत्ति जनाएका थिए । यसअघिका निर्णय भन्नाले सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर समेत पर्ने भएकाले त्यसमा आपत्ति जनाएका हुन् । उनले पार्टी सञ्चालनमा विधि विधान नै मिचिएको बताउँदै फेरी पनि पार्टीको सहमति बेगर प्रतिनिधि सभा विघटन गर्ने, अध्यादेश ल्याउने जस्ता विषयमा पनि प्रतिबद्धता आउनु पर्ने बताएका छन् । खास गरी पार्टी हित विपरीत गरिएका कार्यलाई ओलीले पनि महसुस गर्नुपर्ने उनको भनाई छ ।
आइतबार आफू निकट नेताहरूसँग छलफल गर्दे ओलीले दर्जन पटक छलछाम गरेकाले अहिले पनि विश्वसनीय आधार आई नसकेको बताएका थिए । नेता नेपालको तर्फबाट कार्यदलमा सहभागी नेताहरूले गरेको छलफलमा समेत उनको आपत्ति रहेको थियो ।