- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेस धनकुटामा पनि उमेदवारका आकांक्षीहरु बढ्न थालेका छन्। महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ।
सभापति पदमा आधादर्जन भन्दा धेरै उम्मेद्वारका आकांक्षीहरु देखिएका छन्। जसमा वर्तमान सभापति अग्नी प्रसाद पौडेल, पूर्वसभापति मनोहर नारायण श्रेष्ठ, उपसभापति नविन किसोर शाक्य, सचिव विजय सन्तोषी राई, क्षेत्रीय सभापति इन्दिरा थापा, नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व केन्द्रीय सदस्य धिरेन्द्र मिश्र, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट कुमार फागो जिल्ला सभापति बन्ने दौडमा छन् ।
अग्नी प्रसाद पौडेल, मनोहर नारायण श्रेष्ठ, नविन किशोर शाक्य र विजय सन्तोषी राई सभापति शेरबहादुर देउवा निकट मानिएका छन् भने संस्थापन इतर समूहबाट इन्दिरा थापा, धिरेन्द्र मिश्र र कमोट कुमार फागोले सभापतिमा दाबी गरेका छन्। जसमा इन्दिरा थापा र धिरेन्द्र मिश्र रामचन्द्र पौडेल शंशाक कोइराला र शेखर कोइराला निकट मानिन्छिन्।
त्यस्तै कमोट कुमार फागो कृष्ण प्रसाद सिटौलासंग नजिक मानिन्छन्। फागो १३औँ महाधिवेशनमा सभापति पदमा अग्नी प्रसाद पौडेलसंग पराजित भएका थिए।
एक मात्र निर्वाचन क्षेत्र भएको धनकुटामा पाँच हजारको हाराहारीमा क्रियाशील सदस्यहरु छन् । जसमध्ये ११ सय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आएका सदस्यहरु छन्। सभापति पदमा आकांक्षीहरु धेरै देखिएता पनि कांग्रेसका केन्द्रीय सहमहामन्त्री सुनिल बहादुर थापाको समर्थन निर्णायक मानिने अनुमान गरिएको छ।
राप्रपाबाट कांग्रेस प्रवेश गरेर सहमहामन्त्री बनेका थापाको सहयोग कुन उम्मेदवारलाई हुने भन्ने बारेमा हालसम्म अन्यौल रहेको छ । तर उनको समर्थन पाएको उम्मेदवारले जिल्ला नेतृत्व पाउन सक्ने संभावना बलियो छ ।
कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।