arrow

मन्त्रीपरिषद् गठनको सन्देश : चुनावी मुडमा देउवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-cabinet.jpg
तस्बिर : रासस

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्रीपरिषद् चुनावी प्रयोजनका लागि हुने प्रस्ट सन्देश दिएका छन्। प्रधानमन्त्रीमा केही बेरअघि शपथ लिएका देउवाले तत्काल छरितो आकारको मन्त्रीपरिषद्मा सत्ता साझेदार दल माओवादी केन्द्रबाट र आफ्नो दलबाट दुई दुई मन्त्री बनाएका छन्।

गृह र कानुन काँग्रेस तथा अर्थ र ऊर्जा माओवादी केन्द्रले लिने गरी शीर्ष तहमा भएको सहमति अनुसार देउवाले हाल काङ्ग्रेसबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएका हुन्।

यसै गरी माओवादीबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई देउवाले ल्याएका छन्। देउवाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटको साटो पूरक बजेट ल्याउनेमा भन्दा निर्वाचनमा नै जाने मनसायसहित गृह र कानुन मन्त्रालय आफूसँग राखेको उनी निकट नेताहरू बताउँछन्।

‘अहिले देउवाजीको प्राथमिकता फरक छ, परिस्थिति चुनावमा जाने देखिएपछि एमालेले ल्याएको बजेटलाई प्रतिस्थापनको लागि आफ्नो दलको मन्त्री बनाएर पूरक बजेट ल्याउने कुरामा पनि उनको प्राथमिकता देखिँदैन, मन्त्रालयको सुरुवाती बाँडफाँडले पनि त्यही देखाउँछ। गृहमा आफ्ना खास विश्वासपात्र पठाउने कुराले पनि सरकार चुनाव केन्द्रित छ भन्ने देखाउँछ,’ प्रधानमन्त्री देउवा निकट काँग्रेसका एक नेताले भने। देउवाले मन्त्रीमण्डलमा ल्याएका खाँण पूर्व रक्षा मन्त्रीसमेत हुन्।

उनी तरुण दलका पूर्व अध्यक्षसमेत हुन्। उनको नेतृत्वका तरुण दल अनुशासित र बलियो सङ्गठनका रूपमा स्थापित भएको थियो। गृहमन्त्रीमा देउवाले ल्याएका खाँण हक्की स्वभावका काँग्रेस नेता हुन्। उनलाई देउवाले गृह मन्त्रालयको नेतृत्व दिनुमा लामो समय कम्युनिस्ट धारमा हिँडेको गृह प्रशासनलाई सुधार्ने पनि देउवाको लक्ष्य हो।

यसै गरी कानुन मन्त्रीमा ल्याइएका कार्की पूर्व अर्थमन्त्री हुन्। उनलाई कानुनी मन्त्रालयमा ल्याएर निर्वाचनका विषयलाई समेत कानुनी रूपमा सहज बनाउने लक्ष्य देउवाको रहेको बताइन्छ। यसै गरी अर्थ मन्त्रीमा आएका शर्मा पूर्व गृहमन्त्री पनि हुन्। उनलाई अर्थमा ल्याएर शक्ति सन्तुलनमा पनि माओवादी नेतृत्वसँगको सम्बन्ध देउवाले दह्रो बनाउने खोजेका छन्।

यसै गरी ऊर्जा मन्त्री भुसालसमेत सरकार सञ्चालनमा अनुभवी मानिन्छन्। उनलाई पहिलो पटकमा नै मन्त्रीमा ल्याउँदा महिला सहभागितामा पनि देउवाले अर्थपूर्ण सन्देश दिएका छन्।

देउवाले आगामी मन्त्रिपरिषद् विस्तार गर्दा पनि सशक्त पात्र रोज्न चाहेका छन्। त्यसका लागि उनले पार्टीका सबै गुटहरूसँग छलफल गरेर योग्य र दाग नलागेका अनुहार ल्याउन चाहेका छन्। देउवाले अब काङ्ग्रेसबाट जितेन्द्र देव, डा. मिनेन्द्र रिजाल, गगन थापा लगायतलाई मन्त्री बनाउने सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ