arrow

बालकोट सरे लगत्तै स्थायी कमिटी बैठक बोलाउँदै ओली, नेपालप्रति आक्रामक हुने सङ्केत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ३० बुधबार
kp-oli-standing-committee-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। सर्वोच्च अदालतको फैसलापछि माधव नेपालसँग आक्रोशित बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार स्थायी कमिटी बैठक राख्ने भएका छन्।

बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि उनले बैठकको समय तोक्ने र आजै स्थायी कमिटीको बैठक राख्न महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन्। पटक पटक रोकिएको स्थायी कमिटीको बैठक ओलीले सरकारी निवास बालुवाटार छाडे लगत्तै बस्न लागेको हो।

सर्वोच्च अदालतको फैसला अघि नै बस्ने भनिएको बैठक फैसला लगत्तै पनि बस्ने तयारी गरिएको थियो। हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि स्थगित भएको थियो।

बुधवार बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रामक रूपमा प्रस्तुत हुने अनुमान गरिएको छ। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटीको बैठक आज बस्न लागेको तर समय तय भैनसकेको बताए। आजको बैठकमा नेपाल पक्षका नेताहरू पनि सहभागी हुने बताइएको छ।

मङ्गलवार प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने नेपाल समूहप्रति कडा शब्दमा असन्तुष्टि व्यक्त गरेका थिए। एमाले आन्तरिक विवादमा रहेको बेला सर्वोच्च अदालतले ओलीलाई हटाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि झनै जटिल मोडमा पुगेको छ।

एमालेका अध्यक्ष ओलीले अहिलेको समयको आवश्यकता भनेकै सार्वभौमसत्तालाई बलियो बनाउँदै जानुपर्ने भए पनि त्यो हुन नसकेको र आफ्नैले बल विपक्षीलाई पास गरेका कारण यो अवस्थामा आइपुगेको भन्दै नेपाल पक्षको आलोचना गरेपछि एमाले थप सङ्कटमा परेको अनुमान गरिँदै छ।

मङ्गलवार सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै आजको राजनीति विपरीत दिशामा लान अप्रत्यक्ष रूपमा माधव नेपाल दोषी रहेको आरोप लगाएका थिए। तर आजको बैठकमा नेपाल जान्छन् वा जाँदैनन् भन्ने यकिन भैसकेको छैन।

आज बिहान मात्रै वामदेव गौतम नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। मङ्गलवार स्थगित एमाले स्थायी कमिटी बैठक आज बोलाउने ओलीको तयारीपछि गौतम नेपाललाई भेट्न कोटेश्वर गएका हुन्।

यसअघि नेपाल पक्ष बिनाको केन्द्रीय कमिटीमा सहभागी भएका गौतम पछिल्ला समय बैठकमा गएका छैनन्। नेपाल पक्ष भने एमाले ब्युँतिएपछि बैठकमा सहभागी भएको छैन।

आइतबार एमाले कार्यदलले पार्टी एकताको आधार तयार पार्दै १० बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनका लागि ओली र नेपालबिच भेटवार्ताको पनि तयारी भइरहेको बुझिए पनि उनीहरूको भेटघाट बेगर नै ओलीले स्थायी कमिटी बैठक बोलाउन लागेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ