- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति फेरी संशोधन गर्ने तयारी भएको छ । काँग्रेसले यसअघि १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने गरी १४र्औं महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर क्रियाशील सदस्यताको विवाद समाधान नभएपछि काँग्रेसले निर्धारित मिति भन्दा केही दिन पर महाधिवेशनको मिति सार्न लागेको हो ।
काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता मीन विश्वकर्माले महाधिवेशन सर्ने नभई धकेलिने अवस्था रहेको बताए । ‘महाधिवेशन सार्ने भन्ने होइन, केही दिन धकेलिने हो, १६ गते सुरु हुने भनिएकोमा अब भदौ अन्तिममा धकेलिन सक्छ, छलफल हुँदै छ,’ नेता विश्वकर्माले हाम्रा कुरासँग भने । उनका अनुसार तल्ला तहदेखि नै अधिवेशनको तालिका संशोधन गर्न पदाधिकारी बैठकमा छलफल हुनेछ । काँग्रेस पदाधिकारी बैठक आजै बस्दै छ । बैठकमा भदौ २५ वा २७ देखि अधिवेशन गर्ने विषयमा छलफल हुने छ ।
क्रियाशील सदस्यता विवादका कारण छानबिनको काम नसकिएपछि काँग्रेसले वडा तहदेखि नै अधिवेशन सार्न लागेको हो । यसअघि निर्धारित कार्य तालिकामा काँग्रेसको सबै भन्दा तल्लो तह वडा तहमा १२ साउनमा अधिवेशन हुने उल्लेख छ । हालसम्म काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन सकेको छ । समितिले २२ निर्वाचन क्षेत्रको विवाद भने टुङ्गाउन सकेको छैन ।
हालसम्म समितिले छानबिन गरेको १४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन गर्दा ७० वटा वडाको सदस्यता स्थगित गरिएको समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए । काँग्रेसले २० असार भित्रै सदस्यताको काम सक्ने गरी यसअघि कार्यतालिका बनाएको थियो । सो मिति प्रभावित भइसकेको छ । यस्तै ३० गते सभापतिले क्रियाशील सदस्यताको सूचीमा हस्ताक्षर गर्ने कार्यक्रम थियो सो पनि प्रभावित भइसकेको छ । सभापतिले सदस्यताको सूचीमा हस्ताक्षर नगर्दासम्म निर्वाचन समितिले अधिवेशनको काम अघि बढाउँदैन ।
हालसम्म आठ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यता सम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये चार लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन । हाल बढिएका नयाँ सदस्यता र अन्य पार्टीबाट समायोजन भएर आएका नेता कार्यकर्तालाई दिएका सदस्यताका विषयमा काँग्रेसमा विवाद देखिएको छ । त्यस्ता नाममा करिब १५ हजार उजुरी परेको थियो ।