arrow

'आन्दोलन कर्कलाको पानी होइन, हल्लाउँदा टुप्लुक्क झर्ने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि आन्दोलनले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको बताएका छन्। एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

“मैले समृद्ध नेपाल : खुशी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ”, उनले भने, “यो आन्दोलन कर्कलाको पानी होइन, हल्लाउँदमा टुप्लुक्क झर्ने, यो सङ्घर्षको मैदानमा उत्रिएको छ ।” 
     
प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश, स्थानीय तहमासमेत एमाले पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओली वर्तमान सरकार सर्वोच्च अदालतको परमादेशमार्फत बनेको र अदालतले न्यायलयप्रति मर्यादा हुने गरी काम गर्नुपर्ने बताए । पुष्पलालले देखाएको बाटो र प्रेरणाबाट अघि बढ्न उनले सबैलाई आग्रह गरे । 

उनले भने, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा  हुन्डरीले केही असर नपार्ने जिकिर गरे ।


 बाटो बिराएका सबैलाई आममाफी दिने  उनले बताए “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, ओलीले भने, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”
     
पार्टी एकतालाई आग्रह गर्दै उनले भने, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरे ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताए । एमालेका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो  भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उनले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ