- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद र कार्यकारिणी समिति सदस्यहरु निर्वाचन आयोगमा भेला भएर सनाखत गरिरहेका छन् ।
जसपाको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको हो । दुवै पक्षका सांसद र कार्यकारिणी समिति सदस्यहरु आयोगमा पुगेर सनाखत शुरु गरेका हुन् ।
जसपा नेता मोहम्मद इस्तियाक राईले उपेन्द्र यादव पक्षमा सनाखत गर्नेको संख्या ३५ पुग्ने दावी गरेका छन् । उनले पार्टी आधिकारिकताको टुंगो आजै लाग्ने र उपेन्द्र पक्षमा यसअघि ३२ सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेकोमा सोमबार त्यसमा थप तीन जना थपिएको जनाएका हुन् ।
केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा उपेन्द्र पक्षको लाइनमा उभिएका थिए । त्यस्तै टीकापुर घट्नाका कारण जेलमा रहेका रेशम चौधरीले पनि उपेन्द्रकै पक्षमा सनाखत गर्ने दाबी गरिएको छ । उनलाई सनाखतका लागि निर्वाचन आयोगका कर्मचारीहरुले जेलबाट आयोगमै लँदैछन् । चौधरीले जेलमा सनाखत गर्न नमानेपछि आयोगमै लगिने भएको हो ।
सनाखतका लागि दावीकर्ता यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई आयोगमा अलगरअलग स्थान तोकिएको छ । सक्कल नागरिकता र परिचयपत्रसहित ५१ जना उनीहरु सनाखतका लागि लामबद्ध भएका छन् ।
आयोगले जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’का लागि आयोगमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संभवत आजै जसपाको विवाद छिनोफानो गर्नेगरी आयोगले तयारी गरेको छ ।