काठमाडौँ । जनता समाजवादी भित्रको विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । चौधरी जसपा विवादको छिनोफानोको प्रक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगे पनि कुनै पक्षमा पनि सनाखतमा सहभागी नभई फर्किएका हुन् ।
उनलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट कान्तिपथस्थित निर्वाचन आयोग लगिएको थियो ।
सो क्रममा पहिले उनले जसपाका दुवै जना अध्यक्षसँग छलफल गर्ने र निर्णय गर्ने बताए पनि विवादको छिनोफानोको प्रक्रियामा भने उनी कतै खुल्न तयार भएनन् ।
महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरूलाई सनाखतका लागि बोलाएको थियो ।
जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ । त्यसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा सनाखत गरेका छन् । यस्तै १६ जनाले महन्थ ठाकुर पक्षमा उभिएका छन् ।