arrow

जसपा देउवा सरकारमा सहभागी हुने, पार्टीका बाँकी सदस्य सच्चिएर आए विचार गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताएका हुन्। पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो । 

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए । उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउन सक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ । जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ । यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताए ।

निर्वाचन आयोगमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन्  । 
 
जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमवार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । 

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ