- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौलालाई धम्की नदिएको प्रष्ट पारेका छन्। उनले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको पनि बताएका छन्।
संग्रौलाले सामाजिक संजालमार्फत बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका थिए । बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको कुरा लेखक संग्रौलाले सामाजिक संजालमार्फत नै जानकारी गराएका हुन्। संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको दाबी समेत गरेका छन् ।
तर बस्नेतले सोमबार सामाजिक संजालमै प्रतिक्रिया लेख्दै आफूले धम्की नदिएको बताएका हुन् । उनले लेखेका छन्, ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन्। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्। बस्नेतले लेखेका छन्, ‘ म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। धम्काउने थर्काउने मेरो शैली होइन।’
‘जहाँसम्म अस्ती ९ गते उपत्यका युथ फोर्स कमाण्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न त्यसो गर्न आवश्यक नै छ।’ बस्नेतले लेखेका छन्, ‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ।’
एमालेको पंक्ती र जनतनसंग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन आवश्यक छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कनफ्युजन हटाउन मैंले बोलेको सुन्नुहोला।’
संग्रौलाले महेश बस्नेतले साइबर सेना लगाएर आफूलाई तह लगाउने प्रत्यक्ष धम्की दिएको उल्लेख गरेका थिए। ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’
संग्रौलाले लेखेका छन्, ‘तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर !’
शनिबार बबरमहलमा युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा बोल्दै बस्नेतले पटक पटक विरोधीलाई ‘मुड्की’ नै काफी रहेको चर्को भाषण गर्दै संग्रौलातर्फ लक्षित गरेर धम्कीपूर्ण मन्तब्य दिएका थिए ।