arrow

देउवाको गृह जिल्लामा महाधिवेशनको तयारी तीव्र 

logo
राम धामी,
प्रकाशित २०७८ साउन १२ मंगलबार
ddl-prachar.JPG

डडेलधुरा । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसको सातौँ जिल्ला महाधिवेशनको तयारी तीव्र पारिएको छ ।  नेपाली काँग्रेसको महाधिवेशन कार्य तालिका स्थगित गरिएको भए पनि डडेलधुरामा भने जिल्ला नेतृत्वका लागि प्रत्याशीहरूको दौडधुप जारी छ । नेपाली काँग्रेस डडेलधुराको सभापति पदका लागि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको समर्थन आफूलाई भएको जिकिर गर्दै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जिल्ला व्यापी चुनावी अभियान सञ्चालन गरिरहेका छन् । 

नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका साउदले  नेता कार्यकर्ताहरू राखेर व्यापक चुनावी अभियान सञ्चालन गरिरहेका बेला उनीसँगै प्रतिस्पर्धा गर्ने तयारीमा रहेका जिल्ला सभापति पदका अन्य आकंक्षीहरु भने अटो रिक्सा भाडामा लिएर चुनावी प्रचारमा होमिन थालेका छन् ।

मङ्गलवार नेपाली काँग्रेस अमरगढी नगरपालिका-१ स्याउलेमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति पदका दुई आकंक्षीहरु हरिप्रसाद भट्ट र करुणाकर भट्ट नेपाली काँग्रेस डडेलधुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लसँगै भाडाको अटो रिक्सामा चढेर सहभागी भएका छन् ।

३२ वर्षदेखि नेपाली काँग्रेस डडेलधुराको राजनीतिमा सक्रिय रहेका काँग्रेस महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले आमा बुबाले दूध बेचेर काठमाण्डौंसम्म पढाएको बताए । ‘विपन्न परिवारमा जन्मिएका ब्यक्तिहरुले राजनीति गर्नु हुँदैन भन्ने किसिमको सन्देश प्रवाह गर्न खोजिएको छ,’ भट्टले भने,‘तर, महामानव बिपी कोइरालाले पार्टी स्थापना गर्दा यस्तो परिकल्पना गर्नु भएको होइन । पार्टीमा सुकिला मुकिलाहरु हाबी भएको उनले जिकिर गरे ।

घर परिवारले तरकारी बेचेर क्याम्पस पढाएका नेपाली काँग्रेस डडेलधुराको सभापति पदका अर्का आकंक्षी करुणाकर भट्ट पनि सोही अटो रिक्सामा चढेर कार्यक्रममा सहभागी भएका हुन । हाल निजी विद्यालयमा अध्यापनसँगै नेपाली काँग्रेस डडेलधुराको उपसभापतिका रूपमा कार्यरत भट्ट विपन्न समुदायका मानिसहरूले राजनीति गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्न आफूले सभापति पदका लागि प्रतिस्पर्धा गरिरहेको बताउँछन् ।  

नेपाली काँग्रेस डडेलधुरामा लामो समय कार्यवाहक सभापति रहेर कुशल नेतृत्वका रूपमा आफूलाई स्थापित गरिसकेका  भट्टले विपन्न समुदायका पक्षमा काम गर्न आफू राजनीतिमा होमिएको बताए । नेपाली काँग्रेस डडेलधुराको सभापतिका अर्का प्रत्याशी दलित सङ्घ डडेलधुराका संस्थापक भरत नेपाली हाल पनि सिलाई मेसिन चलाएर जीविकोपार्जन गरिराखेका छन् । 

पञ्चायत कालमै खरिदारको स्थायी नौकीरी त्यागेर काँग्रेसको राजनीतिमा होमिएका नेपाली जिल्ला स्तरीय नेताहरूमा निकै अग्रज राजनीतिकर्मी मानिन्छन् । ‘काँग्रेसका अधिकांश इमानदार कार्यकर्ताहरूले कामको मूल्याङ्कन गरेर तपाईँले नेतृत्व गर्नुपर्छ भन्ने दबाब दिनुभएकाले मैले सभापति पदका लागि प्रतिस्पर्धा गर्न खोजेको हुँ ।’ नेपालीले भने,‘हामी सबै केन्द्रीय सभापति शेरबहादुर देउवाका कार्यकर्ता हौ, तर यहाँ कसैलाई कोइराला पक्षको मान्छे, कसैलाई विपन्न मान्छे र कसैलाई जातीय विभेद गरेर नेतृत्व हडप्ने तयारी भइरहेको छ ।’

अमरगढी नगरपालिका-१ का सभापति नरबहादुर दियालको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा नेपाली काँग्रेस डडेलधुराका सभापति मल्लले काँग्रेसभित्र इमानदार र कर्तव्यनिष्ठ काँग्रेस खोज्न काँग्रेसका वडादेखि केन्द्रीय महाधिवेशन सम्म सबै नेता कार्यकर्ताहरूले इमानदार भएर खट्नुपर्ने जिकिर गरे । उनले डडेलधुरा काँग्रेसका सबै नेता कार्यकर्ताहरू केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाका कार्यकर्ताहरू भएकाले कसैले पनि म आफ मात्रै देउवानिकट भएको भनेर दाबी गर्न नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ